गर्भवती, सुत्केरी तथा २ वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने ‘मेरो पोषण साथी’ मोबाइल एप सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज एप सार्वजनिक गरेका हुन् ।
एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्षमुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरूलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोगसम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ ।
मन्त्री बस्नेतले नेपालीहरूको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यका लागि मेरो साथी मोबाइल एप महत्त्वपूर्ण भएको बताए । ‘स्वास्थ्यका विषयहरू सम्बोधन गर्न जरुरी छ र त्यसका लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्त्व हुन्छ । तर, आमाको दूध राम्रोसँग आउनका लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तीमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ,’ उनले भने ।
नेपाली प्रयोगकर्तामैत्री एपले दर्ता गर्दा दिइएको विवरणको आधारमा बच्चाको तौल, खानपान, उमेरलगायतको रेकर्ड राख्दछ र त्यसैअनुसार आवश्यक व्यवहारहरूको बारेमा स्याहारकर्तालाई जानकारी दिनेछ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव देव कुमारी गुरागाईंले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताइन् । ‘यो एपले पोषण व्यवहारका साथसाथै नेपाल सरकारले प्रदान गर्ने आधारभूत स्वास्थ्य सेवाको उपभोग गर्न पनि प्रोत्साहन गर्दछ । त्यसैले समग्र स्वास्थ्य प्रणालीलाई नै सुदृढ तुल्याउन यो एपले सहयोग गर्नेछ,’ उनले भनिन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव संगिता मिश्रले सबै नागरिकलाई एक्लाएक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको बताइन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तैः गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गरे ।
परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्त्वपूर्ण र उपयोगी जानकारी पुर्याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताए ।
कार्यक्रममा बोल्दै अमेरिकी विकास नियोग यूएसएआईडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलोपटक आमा बन्दै गरेका महिलाहरूलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने बताए ।
‘नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो । यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा यूएसएआईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन यूएसएआईडीले सधैँ हातेमालो गर्नेछ,’ उनले भने । (शिलापत्र)