अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले नेपालमा बाघ संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको पुष्टि गरेको छ।विगत केही दशकयता सरकार, संरक्षणकर्मी, स्थानीय समुदाय, सुरक्षा निकाय तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको संयुक्त प्रयासका कारण नेपालले विश्वसामु बाघ संरक्षणको सफल नमुना प्रस्तुत गरेको छ।बाघको संख्या वृद्धि हुनु निस्सन्देह गर्व र खुसीको विषय हो।तर संरक्षण विज्ञानका दृष्टिले सफलता केवल संख्या बढ्नु मात्र होइन, बढेको बाघलाई दीर्घकालसम्म सुरक्षित, स्वस्थ र दिगो रूपमा व्यवस्थापन गर्न सक्नु पनि हो।
संरक्षण जीवविज्ञान (Conservation Biology) का अनुसार कुनै पनि वन्यजन्तुको संख्या बढेपछि त्यसको वासस्थान (Habitat), आहारा (Prey Base), आनुवंशिक विविधता (Genetic Diversity), क्षेत्राधिकार (Territory) र मानवसँगको सहअस्तित्व (Human–Wildlife Coexistence) जस्ता पक्षहरू समानान्तर रूपमा सुदृढ हुनुपर्छ। अन्यथा संख्या वृद्धिले नै नयाँ चुनौती सिर्जना गर्न सक्छ।
बाघ दिवसको अवसरमा आयोजित औपचारिक समारोहमा माननीय मन्त्रीज्यू, उच्च सरकारी पदाधिकारी तथा साझेदार संस्थाका प्रतिनिधिहरूले बाघ संख्या वृद्धिको सफलताको प्रशंसा गरे।तर बढ्दो बाघको दीर्घकालीन व्यवस्थापन, आवश्यक संस्थागत सुधार र भविष्यका चुनौतीबारे अपेक्षित स्तरमा गम्भीर बहस भएको सुनिएन।अब पनि यस विषयमा पर्याप्त ध्यान नदिने हो भने अहिलेको सफलता भविष्यमा चुनौतीमा परिणत हुन सक्छ।
बढ्दो बाघसँगै बढ्दै जाने वैज्ञानिक चुनौतीः
बाघ एक शीर्ष शिकारी (Apex Predator) हो।एउटा वयस्क भाले बाघले करिब ६०-१०० वर्ग किलोमिटर तथा पोथी बाघले २०-६० वर्ग किलोमिटर क्षेत्र आफ्नो अधिकार क्षेत्रका रूपमा प्रयोग गर्न सक्छ भन्ने गरिन्छ।जब एउटै क्षेत्रमा बाघको घनत्व अत्यधिक बढ्छ, उनीहरूबीच क्षेत्रीय प्रतिस्पर्धा बढ्छ, नयाँ बासस्थान खोज्ने क्रममा युवा अर्धवयस्क बाघहरु मानव बस्ती नजिक पुग्न सक्छन् र मानव-बाघ द्वन्द्व बढ्ने सम्भावना रहन्छ।त्यसैले अबको प्राथमिकता केवल "बाघ थप्ने" होइन, "बाघसँग सुरक्षित सहअस्तित्व कायम गर्ने" हुनुपर्छ।
दीर्घकालीन संरक्षणका लागि आवश्यक नीतिगत सुधारः
१. फिल्डमा काम गर्ने कर्मचारीलाई अन्तर्राष्ट्रिय अवसर
हाल वैदेशिक तालिम, गोष्ठी र सेमिनारमा एउटै सीमित कर्मचारीलाई पटक-पटक अवसर दिने प्रवृत्ति देखिन्छ।प्रत्यक्ष रूपमा संरक्षण क्षेत्रमा काम गर्ने फिल्डका कर्मचारीले यस्ता अवसर कम पाउने अवस्था छ।
संरक्षणको वास्तविक अनुभव र प्रयोग फिल्डमा हुन्छ।त्यसैले अन्तर्राष्ट्रिय तालिम र अनुभव आदान-प्रदानका अवसरलाई पारदर्शी र समावेशी बनाउँदै फिल्डमा कार्यरत कर्मचारीलाई प्राथमिकता दिने नीति आवश्यक छ।यसले उनीहरूको क्षमता, आत्मविश्वास र संस्थागत दक्षता दुवै बढाउनेछ।
२. गेमस्काउट व्यवस्थापनमा स्थानीय समुदायलाई प्राथमिकता
हाल गेमस्काउट पदलाई धेरैले सरकारी सेवामा प्रवेश गर्ने अस्थायी माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ।फलस्वरूप अनुभवी जनशक्ति लामो समय टिक्दैन।यसको सट्टा वन्यजन्तुबाट प्रत्यक्ष प्रभावित मध्यवर्ती क्षेत्र वा जैविक मार्गका पीडित परिवारका सदस्यलाई निश्चित मापदण्डका आधारमा करार सेवामा नियुक्त गर्ने व्यवस्था गर्न सकिन्छ।यसले दुईवटा महत्वपूर्ण उद्देश्य पूरा गर्छ—
* स्थानीय रोजगारी सिर्जना हुन्छ।
* संरक्षणप्रति समुदायको अपनत्व र जिम्मेवारी बढ्छ।
विश्वका धेरै संरक्षण मोडेलहरूले स्थानीय समुदायको सहभागितालाई दीर्घकालीन सफलताको आधार मानेका छन्।
३. संरक्षणबाट प्रभावित समुदायलाई प्रत्यक्ष लाभ
संरक्षणको सबैभन्दा ठूलो भार स्थानीय समुदायले नै बेहोर्छ।बाघका कारण पशु चौपायाको क्षति, खेतीपातीमा असर, आवागमनमा जोखिम तथा कहिलेकाहीँ मानवीय क्षति समेत हुने गर्छ।त्यसैले "Benefit Sharing" अर्थात् संरक्षणबाट प्रत्यक्ष लाभ वितरण गर्ने नीति अझ प्रभावकारी रूपमा लागू हुनुपर्छ।
उदाहरणका लागि, कुनै मध्यवर्ती सामुदायिक वन वा जैविक मार्गको सामुदायिक वन क्षेत्रमा एउटा बाघको स्थायी उपस्थितिको वैज्ञानिक प्रमाण भएमा त्यस वनका उपभोक्ता समितिलाई बाघ संरक्षण, मानव-बाघ द्वन्द्व न्यूनीकरण, विद्युतीय बार, सचेतना कार्यक्रम, पशु सुरक्षा र आपतकालीन व्यवस्थापनका लागि प्रत्यक्ष बजेट उपलब्ध गराउन सकिन्छ।यसले संरक्षणलाई स्थानीय समुदायको साझा जिम्मेवारी बनाउँछ।
४. निकुञ्जलाई आत्मनिर्भर प्राविधिक संस्था बनाउने
हाल वन्यजन्तु डार्ट गर्ने, उद्धार गर्ने वा नियन्त्रण गर्ने कार्यमा धेरैजसो अवस्थामा बाह्य विशेषज्ञमाथि निर्भर रहनुपर्छ।अब प्रत्येक निकुञ्ज तथा आरक्षमा संरक्षण अधिकृत, रेञ्जर र प्राविधिक जनशक्तिलाई आधुनिक वन्यजन्तु व्यवस्थापन, डार्टिङ, उद्धार, रेडियो-कलरिङ, स्वास्थ्य परीक्षण तथा आपतकालीन उद्धारमा दक्ष बनाउने व्यवस्था आवश्यक छ।
यसका लागि आधुनिक उपकरण, नियमित तालिम तथा वैज्ञानिक अनुसन्धानसँग जोडिएको संस्थागत प्रणाली विकास गरिनुपर्छ। आत्मनिर्भर निकुञ्ज व्यवस्थापनले संकटका बेला छिटो र प्रभावकारी निर्णय गर्न मद्दत गर्छ।
सोच्नै पर्ने एक गम्भिर बिषयः
संरक्षण विज्ञान अनुसार कुनै पनि संरक्षित क्षेत्रको धारण क्षमता (Carrying Capacity) सीमित हुन्छ। यदि बाघको संख्या प्राकृतिक क्षमताभन्दा धेरै बढ्यो भने बाघबीच प्रतिस्पर्धा बढ्ने,आहार प्रजातिमा दबाब बढ्ने,नयाँ क्षेत्र खोज्ने क्रममा मानव बस्ती प्रवेश बढ्ने र मानव-बाघ द्वन्द्व तीव्र हुन सक्छ।यसकारण नियमित वैज्ञानिक अनुगमन, बासस्थान विस्तार, जैविक मार्ग (Wildlife Corridor) को संरक्षण, शिकार प्रजातिको व्यवस्थापन तथा समुदायसँग सहकार्य भविष्यका प्रमुख प्राथमिकता हुनुपर्छ।
निष्कर्षः
नेपालले बाघ संरक्षणमा ऐतिहासिक सफलता हासिल गरेको छ।यो सफलता संरक्षणकर्मी, नेपाली सेना, स्थानीय समुदाय, अनुसन्धानकर्ता, सरकार तथा विकास साझेदार सबैको संयुक्त योगदानको परिणाम हो।तर अबको परीक्षा बाघको संख्या बढाउनु होइन, बढेको बाघलाई दिगो रूपमा व्यवस्थापन गर्दै मानव र बाघबीच सुरक्षित सहअस्तित्व कायम गर्नु हो।
संख्या वृद्धिको उत्सव मनाउने समयसँगै भविष्यको व्यवस्थापन रणनीति निर्माण गर्ने समय पनि यही हो।यदि आजैदेखि वैज्ञानिक योजना, समुदायमैत्री नीति, सक्षम जनशक्ति र दीर्घकालीन व्यवस्थापनमा लगानी गरियो भने नेपालले केवल बाघको संख्या बढाएको देश मात्र होइन, दिगो बाघ व्यवस्थापनको विश्वस्तरीय नमुना बनेर स्थापित हुने अवसर प्राप्त गर्नेछ।जय संरक्षण।