जगत सबैको साझा हो
बाच्न पाउनुपर्छ ,
जड,चेतन ,
प्राणी ,वनस्पति
सबैको अस्तित्व
यहाँ अटाउनु पर्छ ,
तर मान्छे
कहाँ त्यस्तो हुन दिन्छ?
कसैलाई
जीउदो हुँदा उभिने जमिन छैन
न छ मृत देह विसर्जन गर्ने ठाउँ
कसैलाई भने
वैभवको वारपार छ
खरले छाएको झुपडी छैन कसैका लागि
कसैलाई भने
दरवारको घरवार छ
प्रकृति सबैका लागि हो
घामछाया
जल ,जङ्गल
पाखा ,पखेरा
सबै ,सबैका लागि हुन्
सबैले पसिना पोख्न पाउनुपर्छ
चराचर जगतका जीवहरुले
यो धरा भोग्न पाउनुपर्छ
तथापि
तथाकथित
सभ्य मानिएको
यो युगमा समेत
कहाँ छ
सबैका लागि
प्रकृति?
शक्तिशाली मान्छेहरुले
आफूखुसी बाडेर धर्तीलाई
कतै आफ्ना आलिशान
कुन्ज खडा गरेका छन् त
कतै आफ्नो सौखका लागि
निकुञ्ज बसालेका छन्
आफ्नो खटनमा
आफूखुसी पालेका छन् निर्दोष प्राणीहरु
संरक्षणका नाममा वृथा
सुखको स्वर्ग भोग गरेका छन्
संरक्षणका ती कथित हिमायतीहरुले
मेरो आगनमा बाघ पालेका छन्
बढ्दै छन् दिनप्रतिदिन
निर्दोष बाघहरु
म माया गर्छु ती बाघहरुलाई
धेरै माया गर्छु।
तर ती भोका बाघहरु
जब झम्टन्छ्न
मलाई ,मेरा आफन्तहरुलाई
व्यथित हुन्छु,दुख्छु,रुन्छु
उता शक्तिशाली मान्छेहरुका बस्तीमा भने
हर्ष बढाइ चलिरहेको छ
एउटा वर्ग उल्लासमा छ
म त दुखेका मनहरुका साथमा छु
आक्रमणबाट बाघको
जीवन लीला त्याग्ने
नागरिकको यादमा शोकमग्न छु
श्रद्धाञ्जली दिई रहेको छु।