Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाल पोषण सुधारका लागि घर–घर अभियान

नवआमा र शिशुको स्वास्थ्य सुधार्न स्थानीय सरकार सक्रिय
  • 934
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ मा बिहानको घामसँगै स्वास्थ्यकर्मी र वडाध्यक्षको टोली एउटा घरको आँगनमा पुग्छ । घरभित्र नवजात शिशु रोइरहेको छ, आमाले काखमा च्यापेर सान्त्वना दिइरहेकी छन् । टोलीले मुस्कानसहित आमा र शिशुको स्वास्थ्यबारे सोधपुछ गर्छ, पोषिलो खाद्य सामग्री हस्तान्तरण गर्छ र शिशुको हेरचाह तथा आहारसम्बन्धी सुझाव दिन्छ ।


    ADVERTISEMENT

    images

    यो दृश्य अहिले राजापुर नगरपालिका वडा नं. ८ का धेरै घरहरूमा सामान्य बन्न थालेको छ। यहाँका वडाध्यक्ष राजेश थारुको नेतृत्वमा बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि विशेष अभियान सञ्चालन भइरहेको छ। अभियानको मुख्य उद्देश्य स्पष्ट छ—वडाका कुनै पनि बालबालिका कुपोषणको शिकार नहोस् र नवआमाहरूले आवश्यक पोषिलो आहार प्राप्त गरून्।

    घर–घर पुगेर पोषण सन्देश

    यस अभियान अन्तर्गत वडाध्यक्षसहित स्वास्थ्यकर्मीहरूको टोली नवजात शिशु भएका घर–घरमा पुग्ने गर्छ। उनीहरूले नवआमालाई पोषिलो खाद्य सामग्री उपलब्ध गराउनुका साथै स्तनपान, शिशु स्याहार र सन्तुलित आहारका बारेमा परामर्श पनि दिन्छन् ।

    घरमै पुगेर गरिएको यस्तो भेटघाटले आमा र शिशुको स्वास्थ्य अवस्था प्रत्यक्ष रूपमा बुझ्न र आवश्यक सुझाव दिन निकै प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् ।

    कृषिमा आधारित जीवन, चुनौती पनि त्यहीँ

    राजापुर–८ मा थारु, ब्राह्मण/क्षेत्री र दलित समुदायका परिवारहरू बसोबास गर्छन् । यहाँका अधिकांश परिवार कृषि पेशामा निर्भर छन् । तर रोजगारीका लागि धेरै पुरुषहरू नेपालका अन्य सहर वा भारततर्फ मौसमी रूपमा मजदुरी गर्न जाने गर्छन् ।

    यस कारण धेरै घरमा महिला र बालबालिका मात्र बस्ने अवस्था देखिन्छ । यस्तो परिस्थितिमा बालबालिकाको पोषण र स्वास्थ्यबारे पर्याप्त जानकारी नहुँदा कुपोषणको जोखिम बढ्ने गरेको स्थानीयवासीको अनुभव छ ।

    आमा समूह र स्वास्थ्य स्वयंसेविकाको भूमिका

    वडामा सञ्चालन भइरहेका आमा समूहहरू पनि पोषण सुधार अभियानका महत्त्वपूर्ण आधार बनेका छन्। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले प्रत्येक महिना बैठक तथा छलफल आयोजना गरी स्वास्थ्य र पोषणसम्बन्धी जानकारी प्रदान गर्छन् ।

    बैठकका क्रममा स्थानीय रूपमा पाइने अन्नबाली र तरकारी प्रयोग गरेर पौष्टिक लिटो–जाउलो कसरी बनाउने भन्ने विषयमा व्यवहारिक प्रदर्शन पनि गरिन्छ । यसले आमाहरूलाई घरमै उपलब्ध सामग्री प्रयोग गरेर सन्तुलित आहार तयार गर्न प्रेरित गरेको छ ।

    महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लक्ष्मी कुमारी गुरुङ भन्छिन्,“पहिलेको तुलनामा अहिले आमाहरू पोषणबारे धेरै सचेत भएका छन् । घरमै पाइने अन्न र तरकारी प्रयोग गरेर पनि पौष्टिक खाना बनाउन सकिन्छ भन्ने कुरा उनीहरूले सिकेका छन् । त्यसैले कुपोषणको समस्या बिस्तारै घट्दै गएको देखिन्छ ।”

    परियोजनाबाट सुरु, वडाको निरन्तरता

    वडाध्यक्ष राजेश थारुका अनुसार गत वर्ष राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरियाले सञ्चालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत नवजात शिशुको स्वागत तथा पोषणसम्बन्धी कार्यक्रम गरिएको थियो ।

    समुदायमा त्यस कार्यक्रमको सकारात्मक प्रभाव देखिएपछि वडाले यस आर्थिक वर्षमा पनि अभियानलाई निरन्तरता दिन ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    वडाध्यक्ष थारु भन्छन्,“गत वर्ष सञ्चालन भएको कार्यक्रमबाट समुदायमा राम्रो प्रभाव परेको देख्यौं । त्यसैले यस वर्ष पनि वडाले बजेट छुट्याएर नवआमा र शिशुको स्वास्थ्य सुधारका लागि यो अभियानलाई निरन्तरता दिएका छौं ।”

    परिवारसम्म पुगेको पोषण सन्देश

    घर–घर पुगेर सञ्चालन गरिएको अभियानले नवआमा र शिशुलाई मात्र नभई परिवारका अन्य सदस्यलाई पनि सचेत बनाएको छ । नवआमालाई आराम, सन्तुलित आहार र शिशुलाई स्तनपानको महत्वबारे परिवारका सबै सदस्यले बुझ्न थालेका छन् ।

    वडाध्यक्ष थारुका अनुसार समुदायमा यस्तो चेतना फैलिनु नै अभियानको सबैभन्दा ठूलो उपलब्धि हो ।
    उनी भन्छन्,“हामीले सुरु गरेको यो अभियानले आमाबाबु मात्र होइन, परिवारका सबै सदस्यलाई पनि सचेत बनाएको छ । वडाका कुनै पनि बालबालिका कुपोषणको शिकार नहोउन् भन्ने हाम्रो लक्ष्य हो, त्यसैले यो अभियानलाई निरन्तर अघि बढाइनेछ ।”

    स्वस्थ बालबालिका, सुरक्षित भविष्य

    बालबालिकाको पोषण सुधार केवल स्वास्थ्यको विषय मात्र होइन, भविष्यको आधार पनि हो । जीवनको प्रारम्भिक चरणमै राम्रो पोषण पाउने बालबालिका शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुने विश्वास गरिएको छ ।

    राजापुर नगरपालिका वडा नं. ८ मा सुरु गरिएको यो घर–घर अभियानले स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यबाट बाल स्वास्थ्य सुधार सम्भव छ भन्ने सन्देश दिएको छ ।
    यदि यस्तो पहल निरन्तर र व्यवस्थित रूपमा अघि बढाइयो भने राजापुर–८ मात्र होइन, अन्य वडाहरूका लागि पनि यो अभियान उदाहरण बन्न सक्छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij