बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ५, सोह्रबिघा गाउँकी २६ वर्षीया आँचल सुवेदीका लागि केही महिना अघि जीवन निकै कठिन मोडमा पुगेको थियो । पाँच सदस्यीय परिवार—श्रीमान्, ससुरा, सासु, छोरा र आफू—सँग बसोबास गर्दै आएकी आँचलको दैनिकी सामान्य थियो । उनका श्रीमान् पेशाले शिक्षक हुन् भने उनी घरधन्दा सम्हाल्दै आएकी गृहिणी हुन् । तर, आफ्नो सानो छोराको स्वास्थ्य अवस्थाले उनको जीवनमा चिन्ता, डर र तनाव थपिदिएको थियो ।
आँचलको छोरा अहिले १७ महिनाको भइसकेका छन्। तर, उनी ६ महिनाको हुँदादेखि नै गम्भीर कुपोषणको समस्याले ग्रसित भए । बच्चाको तौल बढेन, शरीर कमजोर हुँदै गयो, र स्वास्थ्य अवस्था झन् बिग्रिँदै गयो । उपचारका लागि विभिन्न ठाउँ धाउँदा पनि कुनै सुधार नदेखिँदा आँचल झन् निराश बन्दै गइन् । बच्चाको स्वास्थ्यप्रति चिन्ता र अनिश्चितताले उनलाई मानसिक रूपमा निकै थकित बनाइसकेको थियो ।
यही चुनौतीपूर्ण अवस्थामा आशाको किरण बनेर आयो एक पोषण मूल्यांकन शिविर । प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको सहकार्यमा सञ्चालित “सशक्त बालिका परियोजना” अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं. ४ लाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने उद्देश्यसहित शिविर आयोजना गरिएको थियो ।
महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय पहलमा आँचलले उक्त शिविरबारे जानकारी पाइन् र आफ्नो बच्चासहित सहभागी भइन् । वि.सं. २०८१ माघ ७ गते सञ्चालन भएको उक्त शिविरमा वडाभरिका बालबालिकाहरूको पोषण अवस्था परीक्षण गरियो ।त्यही क्रममा गम्भीर कुपोषण भएका चार जना बालबालिकामध्ये आँचलको छोरा सबैभन्दा कमजोर अवस्थामा रहेको पत्ता लाग्यो।
शिविरपछि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा राधाकृष्ण थारु जनसेवा केन्द्रका सहजकर्ताहरूले अभिभावकहरूलाई कुपोषणको कारण, असर र समाधानबारे विस्तृत परामर्श प्रदान गरे। आँचलले पनि यसबाट धेरै कुरा सिक्ने अवसर पाइन्। उनले पहिलो पटक सन्तुलित आहार, सरसफाइ र नियमित हेरचाहको महत्व गहिरोसँग बुझिन् ।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार आँचलले आफ्नो बच्चालाई नजिकैको स्वास्थ्य संस्थामा भर्ना गरिन्। त्यहाँ बच्चालाई नियमित निगरानीमा राख्दै आवश्यक औषधि, पोषणयुक्त खाना तथा ‘लिटो’ खुवाइयो। स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले निरन्तर फलोअप गर्दै आमालाई पनि आवश्यक मार्गदर्शन गरिरहे ।
अन्ततः लगातार दुई महिनासम्मको नियमित हेरचाह, उचित आहार र सरसफाइका अभ्यासपछि बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार देखियो । बिस्तारै तौल बढ्न थाल्यो, शरीरमा ऊर्जा फर्कियो, र बच्चा सक्रिय र स्वस्थ बन्दै गयो । अन्ततः उनी सामान्य अवस्थामा फर्किन सफल भए ।
अहिले आँचल आफ्ना छोरालाई घरमै पोषणयुक्त खाना बनाएर खुवाउँदै आएकी छन् । उनले आफ्नो जीवनशैलीमा पनि परिवर्तन ल्याएकी छन्—खानपानमा ध्यान दिने, सरसफाइ कायम राख्ने र बालहेरचाहमा सजग रहने बानी बसालिसकेकी छन् ।
आँचल भन्छिन्,“पहिले मलाई पोषण र हेरचाहको बारेमा खासै जानकारी थिएन । त्यसैले मेरो बच्चाको अवस्था यति बिग्रिएको रहेछ । यदि महिला स्वास्थ्य स्वयंसेविकाले मलाई यो कार्यक्रमबारे जानकारी नदिएको भए, मेरो बच्चाको अवस्था अझै गम्भीर हुन सक्थ्यो । पहिले ऊ बारम्बार बिरामी हुन्थ्यो, तर अहिले राम्रो खाना, सरसफाइ र हेरचाहका कारण पूर्ण रूपमा स्वस्थ छ । म पहिले धेरै तनावमा हुन्थेँ, अहिले भने ढुक्क महसुस गर्छु र घरायसी काम पनि सजिलै गर्न सक्छु ।”
आँचलको कथा केवल एक आमाको अनुभव मात्र होइन, यो समुदायस्तरमा सञ्चालन गरिएका प्रभावकारी कार्यक्रमहरूको सफल उदाहरण पनि हो । समयमै गरिएको पोषण मूल्यांकन, सही परामर्श, र निरन्तर हेरचाहले कुपोषण जस्तो गम्भीर समस्यालाई पनि नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने यसले स्पष्ट देखाउँछ ।
यसले अभिभावकहरूलाई सन्देश दिन्छ—सही जानकारी, समयमै उपचार र पोषणमा ध्यान दिएमा बालबालिकाको भविष्य सुरक्षित बनाउन सकिन्छ । साथै, यस्ता कार्यक्रमहरूले समुदायमा सचेतना फैलाउँदै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।