Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा गणित शिक्षण सुधारको नयाँ अभियान: आधुनिक शिक्षण विधि र उपचारात्मक कक्षामार्फत २० गणित शिक्षक सशक्त

  • 793
    SHARES
  •  

    आधारभूत तहका विद्यार्थीहरूको गणित सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले बर्दियामा तीन दिने गणित विषय शिक्षण पुनर्ताजगी तालिम तथा उपचारात्मक (Remedial) कक्षा सञ्चालन–सिकाइ आदान–प्रदान कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।


    ADVERTISEMENT

    images

    प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) को आयोजनामा, शिक्षा विकास तथा समन्वय इकाई, बर्दिया को समन्वय तथा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिका को सहकार्यमा सञ्चालित सिकाइ सुधार परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

    शनिवार सम् पन्न भएको तालिममा ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका २० वटा सामुदायिक विद्यालयका आधारभूत तहका गणित शिक्षकहरू सहभागी भएका थिए। तालिमले शिक्षकहरूलाई विद्यार्थी–केन्द्रित, सहभागितामूलक तथा प्रभावकारी गणित शिक्षणका आधुनिक विधि, उपचारात्मक कक्षा सञ्चालनका व्यवहारिक उपाय, सिकाइ कठिनाइ भएका विद्यार्थीलाई सहयोग गर्ने रणनीति तथा सिकाइ उपलब्धि अभिवृद्धिका प्रभावकारी अभ्यासबारे ज्ञान र सीप प्रदान गरेको छ।

    तालिमको सहजीकरण सुर्खेत क्याम्पसका प्राध्यापक नरहरि आचार्य ले गर्नुभएको थियो। उहाँले व्यवहारिक अभ्यास, समूहगत छलफल, समस्या समाधानमा आधारित सिकाइ, नवीन शिक्षण प्रविधि तथा कक्षाकोठामा प्रयोग गर्न सकिने सिर्जनात्मक विधिहरूमार्फत गणित विषयलाई अझ सरल, रोचक र प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुभयो। सहभागी शिक्षकहरूले प्रत्यक्ष अभ्यासमार्फत सिकेका सीपहरू विद्यालयमा कार्यान्वयन गर्न सकिने अनुभवसमेत प्राप्त गरेका छन्।

    कार्यशालाको अर्को महत्वपूर्ण पक्ष शिक्षकहरूबीच सिकाइ आदान–प्रदान रह्यो। सहभागीहरूले आफ्ना विद्यालयमा सफलतापूर्वक अभ्यास गरिएका शिक्षण विधि, नवीन प्रयोग तथा उत्कृष्ट अभ्यासहरू एकअर्कासँग साझा गर्दै आपसी सिकाइलाई थप समृद्ध बनाएका थिए।

    तालिममा सहभागी शिक्षकहरूले पनि तालिमबाट प्राप्त ज्ञान, सीप र व्यवहारिक अनुभवलाई आफ्ना विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गरी विद्यार्थीहरूको गणितप्रतिको रुचि, आत्मविश्वास र सिकाइ उपलब्धि अभिवृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    शिक्षण–सिकाइ प्रक्रियामा नवप्रवर्तन, उपचारात्मक कक्षाको प्रभावकारी अभ्यास तथा शिक्षकहरूबीच अनुभव आदान–प्रदानलाई प्राथमिकता दिएको यो कार्यक्रम बर्दियामा गणित शिक्षण सुधारको एउटा महत्वपूर्ण अभियान का रूपमा हेरिएको छ। यसले आधारभूत तहका विद्यार्थीमा गणित सिकाइका चुनौतीहरू न्यूनीकरण गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij