Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा हङकङलाई डकवर्थ लविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जितेको छ ।

    जितको लागि १ सय २ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै ३७ रन बनाएको अवस्थामा खराब मौसमको कारण खेल रोकिएको थियो ।

    पुन खेल हुन नसकेपछि नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा विजयी भएको थियो । नेपालकी इन्दु बर्मा १९ बलमा २ चौकासहित १९ रनमा नटआउट रहिन् । सीता रानामगर १३ बलमा १ चौकासहित १३ रनमै नटआउट रहिन ।

    नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो । तर त्यसपछि दुई अनुभवी ब्याटर सीता र इन्दुले नेपालको इनिङलाई राम्रो सुरुवात दिलाएका थिए ।

    त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

    हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाइन् । त्यस्तै मारिना लम्प्लगले २० बलमा २ चौकासहित १९ रन बनाइन् । चौथो विकेटका लागि केरी र मारिनाले ३० रनको साझेदारी गरेका थिए ।

    तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले दोस्रो ओभरको तेस्रो बलमा हङकङकी प्रमुख ब्याटर मारिको हिल शून्यमा कविता जोशीबाट क्याच आउट भएकी थिइन् । अर्को ओभरमा ओपनर तथा प्रमुख ब्याटर नताशा तारा मिल्स ६ रनमा रन आउट भइन् ।

    इक्रा साहर ८ बलमा १ चौकासहित १० र शान्जिन शाहजाद १० बलमा १ चौकासहित १४ रन बनाइन् । नेपालको लेग स्पिनर खुशी डंगोलले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिए । नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । मलेसियाले कुवेतलाई हराउँदै तेस्रो बनेको थियो ।

    आइसिसी विश्वकप महिला टि२० एसिया क्षेत्र छनोट अघि नेपालसहित चार देशले सिरिज खेलेका हुन् । नेपालले अव सोमबार अन्तिम तयारीको रुपमा थाईल्यान्डसँग खेल्नेछ । आइसिसी महिला एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

    नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

    फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij