गेरुवा गाउँपालिकाको आयोजना तथा गेरुवा खेलकुद विकास समितिको समन्वयमा सञ्चालन हुन लागेको छैटौं गेरुवा उपाध्यक्ष कप महिला फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक गरिएको छ।
गेरुवा गाउँपालिका–६ स्थित मनाउ बेलभरिया खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका महिला फुटबल टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन खेलमा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका बीच जेठ ६ गते बिहान ८:३० बजे प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी, मधुवन नगरपालिका ले जेठ ७ गते दिउँसो ३:०० बजे पहिलो सेमिफाइनल खेल खेल्नेछ। अर्को सेमिफाइनलतर्फ गेरुवा गाउँपालिका र बारबर्दिया नगरपालिका बीच जेठ ६ गते दिउँसो ३:०० बजे प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले जेठ ७ गते बिहान ८:३० बजे बाँसगढी नगरपालिका सँग सेमिफाइनल खेल खेल्ने तालिका रहेको छ।
प्रतियोगिताको फाइनल खेल जेठ ८ गते दिउँसो २:०० बजे हुने आयोजकले जनाएको छ। महिला खेलकुदको विकास, प्रतिभा पहिचान तथा स्थानीय तहबीच खेलमैत्री सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा महिला फुटबलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र खेलप्रेमीलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न आग्रह गरिएको छ।