बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. २ स्थित कुम्रागाउँ आधारभूत स्वास्थ्य केन्द्रको परिसरमा बनेको सानो तर आकर्षक कोठाबाट बालबालिकाको हाँसो, खेल र चहलपहल सुनिन थालेको छ । पहिले खोप लगाउन वा औषधि खान आउँदा रुन थालेका बालबालिका अहिले भने त्यही स्वास्थ्य केन्द्रतर्फ उत्साहका साथ दौडिरहेका छन् । कारण हो—त्यहाँ स्थापना गरिएको वाल खेल तथा विकास कक्ष ।
यस कक्षको स्थापना भएपछि बालबालिकाले सुरक्षित र रमाइलो वातावरणमा साथीहरूसँग खेल्ने, सिक्ने र घुलमिल हुने अवसर पाएका छन् । रंगीन खेलौनाहरू, चित्र, पजल, साना–साना सिकाइ सामग्रीले सजिएको कक्ष बालबालिकाका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ आउने बालबालिका खेल्दै–खेल्दै सिक्ने वातावरण पाउँछन्, जसले उनीहरूको शारीरिक, मानसिक तथा भावनात्मक विकासमा सकारात्मक प्रभाव पारिरहेको छ ।
स्थानीय अभिभावकहरूका अनुसार केही समय अघिसम्म बालबालिकाहरू स्वास्थ्य केन्द्र जान डराउने गर्थे । खोप लगाउँदा र औषधि खुवाउँदा रोएको दृश्य सामान्य थियो । तर अहिले परिस्थिति बदलिएको छ ।
कुम्रागाउँकी एक आमा सीता थारु भन्छिन्,“पहिले मेरो बच्चा स्वास्थ्य केन्द्र लैजाँदा धेरै रुन्थ्यो। अहिले भने ‘खेल्ने कोठा’ जान्छु भन्दै आफैं उत्साहित हुन्छ। त्यहाँ साथीहरूसँग खेल्छ, रमाइलो गर्छ।”
यस वडामा बालबालिकाको प्रारम्भिक विकास, स्वास्थ्य हेरचाह, पोषण तथा बालबालिका हुर्काउने क्रममा बाबुको भूमिकाबारे विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विशेषगरी राधाकृष्ण थारु जनसेवा केन्द्र सशक्त वालिका परियोजना मार्फत समुदायमा बाल विकासप्रति जनचेतना उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
समुदायमा बढ्दो चासो र आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले बजेट विनियोजन गरी स्वास्थ्य केन्द्र परिसरमै वाल खेल तथा विकास कक्ष कक्ष निर्माण गरेको हो । स्थानीय सरकार, समुदाय र साझेदार संस्थाहरूको सहकार्यले सम्भव भएको यो पहललाई धेरैले उदाहरणीय कदमका रूपमा लिएका छन् ।
बारबर्दिया नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राम फेरन चौधरी भन्छन्,“बालबालिकाको प्रारम्भिक विकासमा खेलकुदको ठूलो भूमिका हुन्छ । त्यसैले स्वास्थ्य सेवासँगै बालमैत्री वातावरण बनाउने उद्देश्यले यो कक्ष निर्माण गरिएको हो । यसबाट बालबालिका मात्र होइन, अभिभावकहरू पनि सचेत हुँदै गएका छन्।”
स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूका अनुसार वाल खेल तथा विकास कक्ष सञ्चालन भएपछि स्वास्थ्य सेवामा पनि सकारात्मक प्रभाव देखिएको छ। स्वास्थ्यकर्मी रामेश्वर थारू भन्छन्, “पहिले बालबालिका स्वास्थ्य केन्द्र आउन डराउँथे । अहिले उनीहरू खुशी हुँदै आउँछन् । यसले खोप, स्वास्थ्य जाँचजस्ता सेवामा पहुँच बढाउन पनि मद्दत गरेको छ ।”
कक्षमा दैनिक रूपमा करिब ८ देखि १० जना बालबालिका अभिभावकसँगै खेल्न आउने गरेका छन् । आउने बालबालिकाको विवरण तथा गतिविधिहरू दर्ता पुस्तिकामा नियमित रूपमा अभिलेख गरिन्छ । यसले कक्षको प्रयोग र प्रभावकारितालाई व्यवस्थित रूपमा अनुगमन गर्न सहयोग पुर्याएको छ ।
हाल प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको सहकार्यमा सञ्चालित सशक्त वालिका परियोजनाले खेल सामग्री उपलब्ध गराउने, व्यवस्थापनमा सहयोग गर्ने लगायतका कार्यमार्फत निरन्तर साथ दिइरहेको छ ।
समुदायका अगुवाहरूका अनुसार यस्तवाल खेल तथा विकास कक्षहरू बालबालिकाको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण छन् । स्थानीय बासिन्दाहरू भन्छन्—यदि हरेक स्वास्थ्य केन्द्रमा यस्ता बालमैत्री स्थान स्थापना गर्न सकियो भने बाल स्वास्थ्य सेवा अझ प्रभावकारी बन्न सक्छ ।
सानो कोठामा सजिएका खेलौनाहरू, हाँसोले भरिएको वातावरण र बालबालिकाको चहलपहलले अहिले कुम्रागाउँ आधारभूत स्वास्थ्य केन्द्रलाई नयाँ पहिचान दिएको छ । यसले केवल खेल्ने ठाउँ मात्र उपलब्ध गराएको छैन, बालबालिकाको विकास र समुदायमा बालमैत्री वातावरण निर्माण गर्ने एउटा सशक्त सन्देश पनि दिएको छ।