गेरुवा गाउँपालिकाको आयोजना तथा गेरुवा खेलकूद विकास समितिको समन्वयमा “छैटौं बर्दिया जिल्ला पालिका स्तरीय गेरुवा उपाध्यक्ष कप महिला फुटबल प्रतियोगिता” आयोजना हुने भएको छ।
गेरुवा खेलकूद विकास समितिले बर्दिया जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै प्रतियोगितामा महिला फुटबल टोली सहभागी गराउन आग्रह गरेको छ। समितिका सदस्य–सचिव नवराज अधिकारीद्वारा हस्ताक्षरित पत्रअनुसार प्रतियोगिता २०८३ साल जेठ ६ गते दिउँसो २ बजेदेखि गेरुवा गाउँपालिका–६ मनाउस्थित बेलभरिया खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले रु. ५ हजार ५ सय ५५ दर्ता शुल्क तिर्नुपर्नेछ। टोली दर्ताको अन्तिम मिति २०८३ जेठ ३ गते साँझ ४ बजेसम्म तोकिएको छ भने टाइसिट जेठ ४ गते बिहान ७ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता टाइ–सिट प्रणालीअनुसार सञ्चालन गरिनेछ। प्रत्येक टोलीमा १८ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकसहित अधिकतम २० जना समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। खेलाडीहरूले एकै रंगको पोशाक, जुत्ता, मोजा तथा सिमप्याड अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।
आयोजकका अनुसार सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सिफारिसमा मात्र टोली दर्ता गर्न पाइनेछ। दर्तापछि खेलाडीको नाम परिवर्तन गर्न नपाइने तथा कुनै विभागीय कार्यरत खेलाडीलाई सहभागी गराइने छैन।
प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टोलीले करसहित रु. ८० हजार तथा द्वितीय हुने टोलीले करसहित रु. ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
खेल सञ्चालन सम्बन्धी कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम र मान्य हुने जनाइएको छ। प्रतियोगिताबारे थप जानकारीका लागि सदस्य–सचिव नवराज अधिकारी (९८४६३६०२५३) तथा उपाध्यक्ष कमल प्रसाद आचार्य (९८४१९३३८३९) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।