नेपाली राष्ट्रिय महिला टिमले चार देश सम्मिलित महिला टी–२० अन्तराष्ट्रिय खेलमा लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार कुवेत विरुद्धको दोस्रो खेलमा नेपालले ३४ रनको जित निकाल्दै फाइनल नजिक पुगेको हो।
मलेसिया स्थित बायोमास ओभलमा भएको दोस्रो खेलमा कुवेत समक्ष पहिलो ब्याटिङ गर्दै नेपालले ९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। कुवेतका लागि जिफा जिलानीको ११ र खादिजा खालिलको १० रन दोहोरो स्कोरका रुपमा रह्यो। कुवेत विरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि इन्दु वर्माले ३ तथा कविता कुंवर, सिता राना मगर र इश्वरी विष्टले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पनि सय रनको आँकडा छुन सकेको थिएन। कुवेत विरुद्ध नेपालले आफ्नो इनिङमा बाउन्ड्रीका रुपमा जम्मा ३ चौका मात्र प्रहार गरेको थियो। नेपालका लागि इन्दु वर्माले १९ बलमा २ चौकाको सहयोगमा २३ रन बनाउँदा बिन्दु रावलले ४५ बलमा २० रन तथा काजल श्रेष्ठले १८ बलमा १ चौकाको सहयोगमा १९ रनको नटआउट इनिङ खेलिन। कुवेतका लागि मारियम हाइदरले ४ विकेट लिंदा मार्यम ओमारले २ तथा प्रियाद मुरली र खादिजा खालीलले १–१ विकेट लिएका थिए।
पहिलो खेलमा हङकङलाई पराजित गरेकाले दोस्रो खेलमा कुवेतलाई हराएसँगै फाइनल नजिक पुगेको छ। चार देश सम्मिलित सिरिजमा कुवेत, हङकङ, मलेसिया र नेपाल रहेका छन्। नेपालले समूहको अन्तिम खेलमा शुक्रबार मलेसियाको सामना गर्ने छ। शीर्ष दुईमा रहने टिमबिच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुने छ।
पराजित हुने टिमबिच तेस्रो स्थानका लागि खेल हुने छ। नेपालले आगामी सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ। त्यसपछि नेपालले आइसिसी महिला टी(२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने छ। एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामानै आयोजना हुँदै छ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन्। समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन्। दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोटमा स्थान बनाउने छन्। (देशसञ्चार)