इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेको नगरेको बारे छानबिन हुने भएको छ ।
प्रदेश ५ प्रहरीले आचरण उल्लंघन गरे नगरेको बारे अनुुन्धान गर्न प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जानकारी दिनुभयाे ।
छानबिन समितिमा प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठ, प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल, प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक मल्ल र प्रहरी नायब निरीक्षक (सई) वसन्त ओली छन् ।
समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न समयसमेत दिइएको शाहको भनाइ छ ।
‘हातहतियार खरखजना जस्तो संगीन अपराधसँग कुनै हालतमा सम्झौता हुन सक्दैन तर, त्यहीसँग दसैंमा खसी मागेको कुरा जोडिएर आयो त्यसकारण छानबिन समिति बनाउनु जरुरी देखेर समिति बनाएको छौं,’ डीआईजी शाहले भन्नुभयाे ।
बिहीबारराति कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट डीएसपी शाहीको टोली नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गर्यो ।
सो घटनामा डीएसपी शाहीले आफैंले हतियार राखेर सन्दीपजंगसहितको टोलीलाई फसाएको आरोप छ ।
सन्दीपजंगनिकटका अनुसार डीएसपी शाहीले दसैंमा तरुण दलका नेपालगञ्ज कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको र खशी नदिएपछि सन्दीपजंग शाहीलगायत केशर खड्कासँग डीएसपी रुष्ट भएको आरोप छ ।
सन्दीपजंग शाही र केशर खड्का व्यवसायिक पार्टनरसमेत हुन् । केशर खड्कासँग डीएसपी शाहीले दसैंमा खशी मागेको फोन रेकर्डसमेत सार्वजनिक भएको छ ।