Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्प्रिङडेल एकेडेमी नेपालगन्जका विद्यार्थीहरूले गरे प्रदेशसभाको नमुना अभ्यास

  • 1.5K
    SHARES
  •  

    स्प्रिङडेल एकेडेमी नेपालगन्जका विद्यार्थीहरूले नमूना लुम्बिनी प्रदेशसभाको नमुना अभ्यास गरेका छन् ।


    ADVERTISEMENT

    images

    यसअघि स्थलगत रूपमै लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभा पुगेर त्यसबारे स्थलगत अवलोकन गर्दै जानकारी लिएका विद्यार्थीहरूले त्यसको नमुना अभ्यास विद्यालयमा गरेका हुन् ।

    अध्ययनका क्रममा सिकेका विषयलाई व्यवहारिक अभ्यास गरिएको विद्यालयका विद्यार्थीहरूले बताएका छन् ।

    स्प्रिङडेलका विद्यार्थीहरूले नमूना लुम्बिनी प्रदेश सभा अभ्यासका क्रममा प्रदेशसभा हल, विषयगत समितिका छुट्टाछुट्टै हल प्रयोग गरेका थिए ।

    खासगरी कक्षा ७ र ८ का विद्यार्थीहरूलाई लुम्बिनी प्रदेशसभामा जस्तै ७४ सांसदहरू बनाइएको सभामा सभामुख, विषयगत समिति र मर्यादापालकको भूमिका भने कक्षा ९ र १० का विद्यार्थीहरूले निभाएका थिए ।

    मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, प्रदेशसभा सदस्य, विषयगत समिति, मर्यादापालक लगायत प्रदेशसभामा हुने पदहरू समेत नमूना अभ्यासमा समेटिएको थियो । त्यसक्रममा प्रदेशसभामा सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको थियो ।

    नमूना लुम्बिनी प्रदेश सभामा सभामुखको भूमिका निर्वाह गरेकी कक्षा १० की छात्रा हिना खड्काले अभ्यासका क्रममा चार वटा मन्त्री र चार वटा विभिन्न समिति बनाएर विषयगत रुपमा छलफल गरी प्रदेशसभामा प्रस्तुत भएको जानकारी दिइन् । ‘समितिहरूले छलफल पछि तयार गरेको विषयहरू प्रदेशसभामा प्रस्तुत पछि पारित भएका छन्’ उनले भनिन् ।

    प्रदेशसभामा मुख्यमन्त्री कक्षा ८ का निश्चल विष्ट थिए भने कृषि मन्त्री अनुजा घिमिरे, पर्यटन विकास मन्त्री मातृका न्यौपाने, महिला सशक्तीकरण मन्त्री उषा शर्मा र विद्यालय शिक्षा मन्त्री प्रत्युश कार्की रहेका थिए ।

    प्रदेशसभा अन्तर्गत बनाएको कृषिमा आधुनिकीकरण समितिको संयोजक श्रृष्टि विष्ट, पर्यटन विकास समिति संयोजक जयन्द्र सिजापति, विद्यालय शिक्षामा प्रविधिको विकास समिति संयोजक सलीमा शाह रहेका थिए ।

    मर्यादापालक समूहको नेतृत्व कक्षा १० का समृद्धि सिंहले गरिन् ।

    चार वटा समूहका बाँडिएका विद्यार्थीहरूले आफूले पाएको समूह अन्तर्गतको विषयमा छलफल गरी प्रस्ताव प्रदेशसभामा लगेका थिए ।

    ‘अभ्यासका क्रममा विद्यार्थीहरूले फरकफरक जिल्लाको वस्तु स्थिति अध्ययन गरेका छन्, योजना र नीतिले कसरी प्रभाव पार्न सक्ने भन्ने बुझ्ने अवसर पाएका छन्’ विद्यालयकी शिक्षिका सङ्गीता तिमिल्सिनाले भनिन्, ‘पुस्तकमा धेरै विषय समावेश हुन्छ, त्यसको व्यवहारिक अभ्यास गराउँदा विद्यार्थीहरूले त्यसलाई सहज बुझ्ने अवसर पाउँछन् ।’

    प्रदेशसभामा हुने सबै गतिविधिलाई समेटेर नमूना अभ्यास गराएको विद्यालयका प्राचार्य शरद चन्द्र रावलले जानकारी दिए । उनले विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउनुका साथै व्यवहारिक अभ्यास गराउनु पनि उत्तिकै महत्व रहेको बताए । ‘आजका बालबालिका भोलि विभिन्न देशका विभिन्न तहतप्कामा पुगेर देश निर्माण लाग्नेछन्, व्यवहारिक शिक्षाले उनीहरुको जग बलियो हुन्छ भन्ने विश्वास हामीले लिएका छौं’, प्रचार्य रावलले भने ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij