यम पञ्चकको पाँचौं दिन देश तथा विदेशमा भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्वको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाउने गरिन्छ ।
यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथाहरु सुन्ने गरिएको छ । एउटा पौराणिक कथा अनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित छ ।
यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो । यस्तै किंवदन्तीहरुका अनुसार कात्तिक शुक्ल दि्वतीया विशेष कारणले महत्वपूर्ण छ ।
अर्काेतर्फ, किराँत राजा बलिहाङको प्रसंग पनि चर्चित छ । एकदिन बलिहाङ रोगले थलिएर मृत्युको मुखमा पुगेका थिए । उनको मिति पुगेपछि यमराज उनलाई दिन मत्र्यलोक आए । सोही समयमा उनकी दिदी यमुना पनि आफ्नो भाइलाई तिहारको टीका लगाउनको लागि उनको घरमा पुग्छिन् । राजा बलीलाई लिन आएका यमराजसँग दिदी यमुनाले भाइको आयु थपिदिन आग्रह गरिन् । सोही क्रममा उनले यमराजलाई बलीसँगै टीका लगाउन अनुरोध गरिन् । यमराजले यमुनासँग टीका लगाइसकेपछि दक्षिणा स्वरुप एउटा वर माग्न भने ।
सोही क्रममा यमुनाले यमराजसँग कुनैपनि भाइले कात्तिक शुक्ल द्वितीयाको दिन दिदीबहिनीको हातबाट टीका लगाएका छन् । उनीहरुलाई दिदीले लगाएको मखमलीको माला नसुकेसम्म र तेलको धारो नसुकेसम्म कुनैपनि भाइले मर्न नपरोस् भन्ने वर मागिन् । यमराजले पनि तेलको धारा नसुकुन्जेलसम्म बलिहाङलाई नलैजान सहमत भएर उनी फर्किए । महिना बित्यो, वर्ष बित्यो । न त कहिलै तेलको धारा सुक्यो न त मखमली नै । यसरी दिदीबहिनीको दाजुभाइप्रतिको प्रेमबाट यमराजसमेत आजित भएको किंवदन्ती छ । सोही सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
त्यसैले द्वितीयाको दिन दाजुभाइ र दिदी बहिनीबीचको प्रेम र आपसी सद्भावको पर्व मानिन्छ । यो दिन दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा बोलाएर आफ्नै हातबाट बनेको स्वादिष्ट भोजन गराउने गर्छन् । भोजनपछि आफ्नो दाजु या भाइहरुलाई निधारमा सप्तरंगी टीका लगाउने गरिन्छ । यही दिन आफ्नो घरको मूलद्वारमा ओखर फुटाउने चलन समेत छ । आफ्ना भाइहरुको सबै पीडाहरु ओखरसँगै फुटेर जान्छ भन्ने मान्यताको प्रतीक हो ।
यो दिन टीकाटालो सकेर दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई टीका लगाइदिने गरिन्छ । टीकापछि दिदीले भाइलाई पान उपहार स्वरुप दिने मान्यता पनि कताकतै पाइन्छ । यसका साथै विभिन्न भाइमसला र अरु उपहार पनि दिने चलन छ । मान्यता यो पनि छ कि पानलाई उपहारको रुपमा दिँदा बहिनीको सौभाग्य अखण्ड हुन्छ भन्ने मान्यता छ ।
शास्त्रानुसार आजको दिनमा जुन भाइले आफ्नो घरमा भोजन गर्छ उसलाई दोष लाग्ने समेत मान्यता छ । यदि बहिनीको घर जान असम्भव भएको खण्डमा कुनैपनि नदीको तटमा या गाइलाई नै आफ्नो बहिनी मानेर उसको समीप गएर भोजन गर्नुपर्छ भन्ने समेत मान्यता छ ।
उत्तम साइत ११ बजेर ५५ मिनेटमा
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
भाइटीका मध्याह्नमा लगाउनु पर्ने भएकाले ११ बजेर ५५ मिनेटको साइत निकालिएको गौतमले बताए । यस वर्ष अभिजित महूर्त परेकाले साइतमै टीका लगाउँदा उत्तम हुने छ ।
कता फर्किने ?
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्य ढुंगेलका अनुसार टीका लगाउने व्यक्ति उत्तर फर्किनुपर्छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीका लगाउँदा टीका लगाउने व्यक्ति दक्षिण फर्किनुपर्ने भनेको थियो ।