Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चाडपर्वमा जुवातास खेल्ने धमाधम पक्राउ, यस्तो छ कानुनमा सजाय

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  • देश तिहारको उत्सवमा रमाइरहँदा जुवातास खेल्नेहरू धमाधम पक्राउ परिरहेका नेपाल प्रहरीले जनाएको छ।

    पछिल्लो १० दिनमा देशभरीका ३१ स्थानबाट जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न तीनजना महिलासहित तीन सय २९ जना पक्राउ गरिएको प्रहरीले बताएको छ।


    ADVERTISEMENT

    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोख्रेलका अनुसार जुवातासको खालबाट तीन करोड पाँच लाखभन्दा बढी रकम बरामद भएको छ।

    कार्तिक १० गते सबैभन्दा बढी ९२ जना पक्राउ परेको र धेरै घटना काठमान्डूमा भएका छन्।

    बाजुरा, कास्की, दाङ,बर्दिया र पाल्पा जिल्लामा पनि जुवा खेलिरहेका अवस्थामा केहीलाई पक्राउ गरिएको छ।

    यसरी पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको र मुद्दा चलाइने प्रहरीले बताएको छ।

    जुवातास खेलिरहेको स्थानको खोजी गर्न देशैभर सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएको प्रवक्ता पोख्रेलको भनाइ छ।

    सादा पोशाकका प्रहरीले सर्वसाधारणको सूचनाका आधारमा पक्राउ गर्ने गरिएको उनले बताए।

    आर्थिक वर्ष २०७३/७४ मा जुवातास खेल्ने खेलाउने कार्यमा संलग्नविरुद्ध दुई सय छवटा मुद्दा दर्ता भएको थियो। सो वर्ष १५ सय चारजना पक्राउ परेका थिए।

    त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा तीन सय ५९ वटा मुद्दामा २८ सय २४ जना पक्राउ परेको प्रहरीको तथ्याङ्कले देखाउँछ।

    आर्थिक वर्ष २०७५/७६ मा तीन सय ९१ मुद्दा दर्ता भएका छन् भने २८ सय ६९ व्यक्ति पक्राउ परेका छन्।

    के सजाय हुन्छ?

    जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ।

    नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।

    जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

    तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

    उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

    दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

    दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

    जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन। बिबिसी

     

     

     

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij