सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप ४ जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका २ र पर्साका २ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती ४ जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनका अनुसार सङ्क्रमितमध्ये १ जना अस्पताल र अर्का ३ जना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।
आज थप ४ जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्ण रूपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेसनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजिक रहेकाहरूकाे कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।