आइसोलेसनमा मृत्यु भएका बाबुरामकाे रिपोर्ट ‘नेगेटिभ’
बर्दिया टुडे
चैत्र १७, २०७६ सोमवार
११:२१:५६ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आईसोलेसनमा मृत्यु भएका बाबुराम थापाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत १३ गते आइसोलेसनमा भर्ना भएका उनको हिजो दिउँसो मृत्यु भएको थियो ।
पाल्पा रिब्दिकोट गाउँपालिका-६ स्थायी घर भएर सैनामैना नगरपालिका-४ सिसौडाँडामा कोठा भाडामा लिएर बस्दै आएका थापा ६ चैतमा दुबईबाट आएका थिए । उनलाई कोरोनाको आशंका गरिएको थियो । ३४ वर्षीय थापाको स्वाव परीक्षण नतिजा ‘नेगेटिभ’ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । ‘दुई पटक स्वाव टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आयो,’ प्रयोगशाला स्राेतले भन्यो ।
ADVERTISEMENT
चैत ६ गते घर आएका थापालाई सुरुमा हल्का ज्वरो आएको थियो । त्यसपछि सैनामैना मुर्गीमा रहेको अर्याल फार्मेसीमा चेकजाँच गर्दा टाइफाइड देखेपछि थापाले टाइफाइडको औषधि खाएका थिए । तर, छिमेकीले कोरोनाको जाँच गर्न भनेपछि उनी १३ चैतमा आइसोलेसन अस्पतालमा भर्ना भएका थिए । रिपोर्ट आएसँगै अस्पतालले परिवारलाई शव बुझाउने तयारी गरिएको कोरोना विशेष अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले सरकारले कुनै पनि कोरोना संक्रमण देखिएका मुलुकबाट आएकाहरूलाई आइसोलेसन वा क्वारेन्टाइनमा राख्नुपर्ने सरकारको रणनीतिअनुसार बाबुरामको पृष्ठभूमि दुबईबाट आएको र छातीमा समेत संक्रमण देखिएकाले आईसोलेसनमा राखिएको जानकारी दिए ।
डा. थापाले बाबुरामलाई ज्वरो आउने र छातीमा संक्रमण देखिएकाले एन्टिबायोटिक औषधि चलाएर उपचार भइरहेको अवस्थामा मृत्यु भएको र उनको मृत्युको यही कारण भनेर भन्न नसकिने बताए । मृतकको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र परिवारलाई बुझाइने डाक्टर थापाले जानकारी दिए । शिलापत्र