कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ ।
त्यसैगरी वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती पनि आजै मनाइँदैछ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै सुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक सुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।