नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्।
योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।
विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको थियो।
मङ्गलवार राति त्यसको परिणाम आएको गुप्ताले बताए।
यसअघि सङ्क्रमण भएको पुष्टि भएका दुई जना पनि विदेशबाट फर्किएका व्यक्ति हुन्।
फेब्रुअरी महिनामा वुहानबाट नेपाल फर्किएका एक विद्यार्थीमा पहिलो पटक सङ्क्रमण देखिएको थियो। अहिले उनी स्वस्थ भइसकेका छन्।
गत साता फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थीमा केही दिनअघि सङ्क्रमण भएको पुष्टि भएको थियो।
उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा अहिले उपचार भइरहेको छ।
दोस्रो व्यक्तिमा कोरोनाभाइरस भएको पुष्टि भएपछि सङ्क्रमण फैलिन नदिन सरकारले मङ्गलवारदेखि एक साताका लागि देशभरि हिँडडुलमा प्रतिबन्ध लगाएको छ।