धनगढीको कपडा बैँकले असहायलाई सहारा दिदै आएका तीन वटा संस्थालाई डसना हस्तान्तरण गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकले धनगढीको दृष्टी फाउण्डेसन, मानव सेवा आश्रम र वौनियाको सहारा घरलाई १९ वटा डसना हस्तान्तरण गरेको हो।
कपडा बैंकको सञ्चालक गोपाल हमालकी छोरी आरजुले आज दृष्टि फाउण्डेसन र मावन सेवा आश्रममा पुगेरै ६÷६ थान डसना हस्तान्तरण गरिन्। डसना बुझ्दै दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले कपडा बैंकलाई धन्यवाद दिईन्। यस्तै मानव सेवा आश्रमका आदर्श ढकालले पनि डसनाले आश्रममा आश्रीत असहाय एवं मनोरोगीहरुलाई चिसोमा धेरै राहात हुने बताए।
यस्तै वौनियाको सहारा घरलाई ७ वटा डसना हस्तान्तरणका लागि राखिएको छ। कपडा बैंकमा संकलन भएका तर लगाउन नमिल्ने खालका कपडालाई फिटाएर ती डसना बनाईएको थियो। बैंकका सञ्चालक समेत रहेका व्यवसायी गोपाल हमालले ती डसनाको १४ हजार एक सय ८७ रुपैँया फिटाई, तकाई, पल्ला र भन्सर शुल्कमा लागेको खर्च तिरेका थिए।
पुरानो कपडा फिटाई गर्न तीन हजार तीन सय, डसनाको लागि तकाई गर्न चार हजार सात सय ५०, १९ थान पल्ला खरिद गर्न पाँच हजार दुई सय २५ र कपडाको भन्सार शुल्क आठ सय ६२ लागेको थियो।