सामूहिक बलात्कारपीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै सर्वोच्च अदालतले अभियुक्तलाई दोषी ठहर गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधानमल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधिअनुसार दोषीलाई कसुर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ । सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ ।
विसं २०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०÷५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको सुनाएको थियो । बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । तर सो फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ ।
सो पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गर्नुभएको थियो । एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कारपीडित बोहोरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर–३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र बैतडी गुजर–२ को चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।