जिल्ला अदालतमा एक बृद्धले श्रीमतीसंग गसम्बन्ध विच्छेद गरेका छन्। जिल्ला अदालत अर्घाखाँचीमा भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गरेका हुन्।
२०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गरेका हुन्। पहिलेकी श्रीमती घरमा भए पनि छोरा नभएको भन्दै उनले घरपरिवारको राजीखुशीमै दोस्रो विवाह गरेको जनाइएको छ।
छत्रदेव गाउँपालिका वडा नम्बर ४ केरुंगा निवासी ६५ वर्षीय जगलाल न्यौपानेले सोमबार ३८ श्रीमती तुलसा न्यौपानेसँग सम्बन्ध विच्छेद गरेका थिए। २०५६ सालमा मागी विवाह गरेका उनले विवाह भएको २० वर्षपछि जिल्ला अदालतमा आएर सम्बन्ध विच्छेद गरेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताए। उनीहरु मात्र हैन अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्ने जोडीका संख्या बढिरहेको छ। यस आर्थिक वर्ष अर्थात साउनदेखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन्।
सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशतभन्दा वर्ष ३० वर्षमुनिका रहेका छन्। अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन्। गत आर्थिक वर्षमा जिल्ला अदालत अर्घाखाँचीमा १ सय ३८ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए। उनले भने, ‘अदालतमा आएका मुद्दामध्ये अधिकांश मुद्दा सम्बन्ध विच्छेदका रहेका छन। गएको कात्तिक महिनामा मात्र १४ जोडीले सम्बन्ध विच्छेद गरेका थिए।’