Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सार्वजनिक यातायातका साधनमा ‘भ्रमण वर्ष २०२०’ को लोगो टाँसिने

  • बर्दिया टुडे
  • 4.5K
    SHARES
  • देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ। भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको समझदारीअनुरुप सो अभियानको बिहीबार शुभारम्भ गरिएको हो।

    सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ। यस्तो लोगो चार प्रकारको हुनेछ। गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ। प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अङ्कित लोगो बनाइएको छ। आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने बताइएको छ।


    ADVERTISEMENT

    images

    देशभर कालो नम्बर प्लेटधारी यात्रुबाहक र मालबाहक गरी तीन लाख हाराहारीमा यातायातका साधन रहेको महासङ्घले जनाएको छ। अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यातायात क्षेत्रको ठूलो सञ्जालको रुपमा रहेको महासङ्घसँगको सहकार्यले भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भ्रमण वर्षको अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरण, यातायातका साधन व्यवस्थापन तथा चालकको व्यवहारमा परिवर्तनका लागि लागिपरेको बताए। भ्रमण वर्षको सन्दर्भ पारेर सार्वजनिक सवारीसाधनमा सचेतना अभिवृद्धिका लागि १०० स्वयंसेवक परिचालन गरिने मन्त्री भट्टराईले उल्लेख गरे । स्वयंसेवकले सवारीसाधनका यात्रु तथा चालकलाई नैतिक शिक्षा, सरसफाइलगायतबारे सचेत पार्नेछन्। सवारीसाधनमा भ्रमण वर्षसम्बन्धी जानकारीमूलक ‘जिङ्गल’ प्रसारणको व्यवस्था गरिनेछ।

    प्रारम्भमा एक हजार चालक र सहचालकलाई तालीम दिइनेछ। मन्त्रालय, महासङ्घ र ट्रेड युनियन सङ्गठनको साझेदारितामा आगामी मङ्सिर १ गतेदेखि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिरसमेत विभिन्न चरणमा तालीम सञ्चालन गरिनेछ। मन्त्री भट्टराईले विमानस्थलबाट सञ्चालन हुने सम्पूर्ण यातायातका साधनमा जिपिएस प्रणाली लागू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए। पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक यातायातलाई पर्यटकमैत्री बनाउन सेवा सुधार र व्यवहारमा परिर्वतन ल्याउन जरुरी भएको खाँचो औँल्याए। उनले पर्यटक विमानस्थलमा ओर्लेदेखि गन्तव्य सकेर फर्कंदासम्म यातायातसँग जोडिएको विषय भएकाले आतिथ्य सत्कार, शरल भाषा र शालिनता अपनाउन चालक तथा सहचालकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

    ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई पर्यटकमैत्री बनाउन सबै पद्धत्ति अवलम्बन गरिने बताए। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रको सुधार गरी सेवालाई पर्यटनमैत्री बनाउन लागिपर्ने बताए। रासस

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij