इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको जन्मदिनका अवसरमा विभिद कार्यहरु गर्दै मनाइएको छ । “मोहम्मद डे” को अवसरमा बर्दियाको गुलरिया नगरपालिकाका इस्लाम धर्माबलम्बी बस्तीहरुमा हर्षोल्लास छाएको छ ।
शुक्रबार देखी नै गुलरिया नगरपालिका वडा नम्बर ६ को मुस्लिम धर्मवालम्बी बस्तीहरुमा भिलीमीली, ध्वजा पताका लगाई “मोहम्मद डे”को लागि बेलुन, दिपावली बत्ती सहित बस्ती नै सिंगारिएको थियो । सोही अवसरमा आइतबार गुलरिया बजर क्षेत्रमा शान्ति पद यात्रा निकालिएको छ । प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको जन्मदिनको अवसरमा निकालिएको शान्ति पदयात्रा पश्चात गुलरियाको अस्पतालमा रहेका ६० जना विरामीलाई फलफुल समेत वितरण गरिएको सुन्नी दावते इस्लामी नवजवान कमिटीका अध्यक्ष मोहम्मद मेहमुद रजा अत्तारीले बताउनुभयाे । मुस्लिम धर्मावलम्बीहरुको आफनै पात्रो हुन्छ जसलाई हिजरी भन्ने गरिन्छ ।
हिजरी पात्रो १ सालमा १२ महिना हुन्छ । प्रत्येक महिना चन्द्रमाको आधारमा नयाँ तरिख शुरु हुन्छ । मुस्लिम समुदायले आफुले धार्मिक रुपमा मनाइने विभिन्न चाडपर्वहरु चन्द्रमा हेरेर तारिख यकिन गरि मनाउने हुँदा यो समुदायका लागी चन्द्रमा धेरै महत्वपुर्ण मानिएको छ ।
मोहम्मद डे मनाउन अल्लाह(भगवान)को आदेश समेत भएको र स्वंयम पैगम्बर मुहम्मद(इस्लाम धर्मका प्रवर्तक) उहाँलाई करौडौं दुरुद र सलामले पनि आफु अवतारित दिन र क्रमको व्याख्या गरि यो दिन मनाउनु भएकाले विश्वका मुसलमानहरु धार्मिक स्थलहरुको सरसफाई र सजावट गर्ने, शान्ति ¥याली गर्ने एकै ठाउँमा भेला भई अल्लाहको आदेश मुहम्मद सल्लल्लाहो अलैह वसल्लमको जीवनी र उपदेश, मुस्लिमहरुले पालना गर्नुपर्ने हुन्छ । प्रवर्तक मोहम्मद र धार्मिक आचारसंहिताको बारेमा जानकारहरुले चर्चा परिचर्चा गरि स्मरण गराउने, गरिबहरुलाई दान दक्षिणा प्रदान गर्ने गरिन्छ । यस्ता विभिद कार्यक्रम अयोजना गरि यस गुलरियामा प्रत्येक वर्ष १२ रबिउन्नुर मनाउने गरेको सुन्नी दावते इस्लामी नवजवान कमिटीका अध्यक्ष अत्तारीले बताउनुभयाे ।
यसैगरी राजापुरमा पनिमुस्लिम समुदायले बृहत पदयात्राको आयोजना गरेर मोहम्मद दिवस मनाएका हुन । मोहम्मद दिवशको दिन इस्लाम धर्मावलम्बीहरुले खुशी व्यक्त गर्दै मोहम्मदका विभिन्न नारा घन्काउँदै ¥याली निकाल्ने गरेका छन् । मोहम्मद दिवशले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा कायम रहने जनविश्वास रहेको राजापुरका अगुवा हनिप सिद्धीकिले बताउनु भयो ।