बर्दिया जिल्लाको इतिहासमै पहिलो पटक राजापुर नगरपालिकाको आयोजनामा सञ्चालन हुन लागेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी खेलाडीहरूलाई एक विशेष समारोहका बीच बिदाइ गरिएको छ।
गुलरिया नगर ब्याडमिन्टन संघका अध्यक्ष युवराज श्रेष्ठले गुलरिया नगरको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै खेल जर्सी प्रदान गरी बिदाइ गर्नुभएको हो। उक्त जर्सी लुम्बिनी सेरामिक्स लिमिटेडको प्रायोजनमा उपलब्ध गराइएको हो।
लुम्बिनी सेरामिक्स लिमिटेडका एच आर प्रमुख सन्जय श्रेष्ठले प्रतियोगितामा सहभागी खेलाडीहरू, टिम कोच तथा टिम व्यवस्थापकलाई जर्सी हस्तान्तरण गर्नुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। उहाँले खेलकुद प्रवर्द्धनमा निजी क्षेत्रबाट प्राप्त सहयोगले स्थानीय खेलाडीहरूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै लुम्बिनी सेरामिक्स लिमिटेडप्रति आभार व्यक्त गर्नुभयो।
माघ १५ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका उत्कृष्ट तथा वरियता प्राप्त खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
गुलरिया नगर ब्याडमिन्टन संघको तर्फबाट अनुपम न्युपाने–शरद खड्का, पवन पार्की–सन्जय चौधरी तथा डिकेन्द्र बिष्ट–ठोक्रे बिष्टको जोडीले प्रतिस्पर्धा गर्नेछन्। टिम कोचको रूपमा युवराज श्रेष्ठ र टिम व्यवस्थापकको रूपमा कैलाश श्रेष्ठ रहनु भएको छ।
स्थानीय तहमा खेलकुद विकासका लागि निजी क्षेत्रको यस्तो सहकार्य उदाहरणीय रहेको सहभागीहरूले बताएका छन्।