गुलरिया, बर्दिया –८ औँ राष्ट्रिय महिला अधिकार दिवस २०८३ को अवसरमा गुलरिया नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। महिला तथा बालबालिका शाखाको आयोजनामा महिला अधिकारसम्बन्धी अन्तरक्रिया तथा किशोरीहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
“महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिला अधिकारसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्ताव नं. १३२५ र १८२० का विषयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा महिला अधिकारको संरक्षण, प्रवर्द्धन, लैङ्गिक समानता तथा महिलाको आत्मनिर्भरता र समृद्धिका विषयमा व्यापक छलफल भएको थियो।
यसै अवसरमा रूपान्तरण कक्षामा अध्ययनरत किशोरीहरूबीच “महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान” विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा सहभागी किशोरीहरूले महिला अधिकार, शिक्षा, सशक्तीकरण, लैङ्गिक समानता तथा आत्मनिर्भरताका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा वक्ताहरूले महिला अधिकारको सुनिश्चितता, निर्णय प्रक्रियामा महिलाको सहभागिता अभिवृद्धि तथा समाजमा विद्यमान विभेद अन्त्यका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
गुलरिया नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, महिला अधिकारकर्मी, नगरपालिकाका कर्मचारी तथा किशोरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक गीता वाकाबलका अनुसार महिला अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।