प्लान इन्टरनेशनल नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित “सशक्त बालिका परियोजना” अन्तर्गत आज आयोजित एक कार्यक्रममा प्रत्याभूत परिवारहरूलाई आयआर्जनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
आर्थिक रूपमा कमजोर तथा परियोजनाबाट लाभान्वित परिवारहरूको जीविकोपार्जन सुदृढ बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा एक परिवारलाई सलुन व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको छ, जसको कुल लागत रु. ४८ हजार ९१७ रहेको छ । त्यस्तै तीन परिवारलाई सिलाइ–कटाइ व्यवसाय सञ्चालन गर्न आवश्यक मेसिन तथा अन्य सामग्री सहयोग प्रदान गरिएको छ, जसको कुल मूल्य रु. १ लाख ४५ हजार ८ सय बराबर रहेको जानकारी दिइएको छ ।
यस सहयोगबाट सम्बन्धित परिवारहरूले आफ्नै गाउँ–समुदायमा आयआर्जनमूलक व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालकी प्रतिनिधि सुचिता थापा, संस्थाका सचिव युवराज श्रेष्ठ तथा कोषाध्यक्ष यज्ञराज पोखरेल ले संयुक्त रूपमा लाभग्राही परिवारहरूलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन परियोजनाका संयोजक मनोज़ पौडेल ले गर्नुभएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले परिवारको आयआर्जन क्षमता वृद्धि गर्नुका साथै बालिका सशक्तीकरण र परिवारको समग्र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
सशक्त बालिका परियोजनामार्फत समुदायमा बालिका तथा किशोरीहरूको अधिकार, शिक्षा, सुरक्षा र सशक्तीकरण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सोही परियोजनाअन्तर्गत परिवारहरूको आर्थिक अवस्था मजबुत बनाउन आयआर्जनमूलक सामग्री सहयोग कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।