बर्दियाको गुलरियामा जिल्ला क्रिकेट सङ्घ बर्दियाद्वारा आयोजित बर्दिया कप क्रिकेट टी२०को उपाधि राजापुर नगरपालिकाले प्राप्त गरेको छ । शुक्रवार भएको फाइनल खेलमा बर्दिया क्रिकेट एकेडेमी (ए)लाई २१ रनले पराजित गर्दै राजापुर नगरपालिकाले उपाधि माथि कब्जा जमाएको हो ।
फाइनल खेलमा टस जितेर राजापुर नगरपालिका पहिलो ब्याटिङ गरेको थियो। निर्धारित २० ओभरको खेलमा १६.३ ओभरमा १० वटै विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सकेको थियो । राजापुरको तर्फबाट ब्याटिङ गर्दै सिद्धान्तराज शाहीले १७ बलमा २० रन बनाए भने सुलभ चौधरीले १६ बलमा १३ रनको योगदान दिएका थिए । सुरुदेखि नै ब्याटिङ राम्रो गर्न नसकिरहेको राजापुर टिमका खेलाडीहरूले राम्रो स्कोर गर्न नसक्दा सम्पूर्ण टिम १६.३ ओभरमा ९१ को रनमा अल आउट भयो । बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट कसिलो बलिङ गर्दै समिर आचार्यले चार ओभरमा १८ रन दिएर ३ विकेट लिए । साथै रुपेश बस्यालले ४ ओरमा ३० रन दिएर ३ विकेट लिए भने बिरु मगरले ४ ओभरमा १४ रन दिएर २ विकेट लिन सफल भएका थिए ।
९२ रनको विजयी लक्ष्य लिएर आएको बर्दिया क्रिकेट एकेडेमी (ए) निर्धारित २० ओभरको खेलमा १८. ३ ओभरमा ७० रन मै अल आउट हुँदा बर्दिया क्रिकेट एकेडेमी (ए) राजापुर नगरपालिकासँग २१ रनले पराजित भयो ।
बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट ब्याटिङ गर्दै समिर आचार्यले २९ बलमा नट आउट २७ रन बनाउन सफल भएका थिए भने अश्विन गिरीले १४ बलमा ११ रन बनाउन बाहेक अरू कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन सकेनन् र सम्पूर्ण बर्दिया क्रिकेट एकेडेमीको टिम टिम ७० रनमै अल आउट हुन पुग्यो । राजापुर नगरपालिकाका तर्फबाट सौगात खत्रीको बलिङले गर्दा बर्दिया क्रिकेट एकेडेमी ए को ब्याटिङ लाइन चल्न सकेको थिएन । राजापुरको तर्फबाट बलिङ गर्दै सौगात खत्रीले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए भने अजय साहनीले ४ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।
प्रतियोगिता भरको वेस्ट बलरमा राजापुर नगरपालिकाका अजय साहनी भएका थिए, उनले प्रतियोगिता भरि १३ विकेट लिन सफल भएका थिए। यसै गरी वेस्ट ब्याट्सम्यानमा राजापुर नगरपालिकाकै सन्दीप नेपाली भएका थिए, उनले प्रतियोगिताभरि १ सय १७ रन बनाएका थिए । साथै प्रतियोगिताको उदयमान खेलाडी जनजागृति युवा क्लबका दीपक भण्डारीले प्राप्त गरेका थिए ।
विजयसँगै राजापुर नगरपालिकाले ५० हजार ५ सय रुपैयाँ प्राप्त नगद प्राप्त गरेको छ भने उपविजेता बर्दिया क्रिकेट एकेडेमी (ए)ले नगद २५ हजार ५ सय नगद प्राप्त गरेको छ ।
मङ्सिर ८ गतेदेखि मङ्सिर १४ गतेसम्म सञ्चालित यस बर्दिया कप क्रिकेट टी २० प्रतियोगितामा जिल्ला भरिका करिब पाँच वटा टिमको सहभागिता रहेको थियो भने खेल लिगको आधारमा खेलाइएको थियो ।