आज हरिबोधिननी एकादशीव्रत हो । कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । एकादशी मध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठुली एकादशी पनि भनिएको हो । हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ ।
हरि भनेका साक्षत् विष्णु भगवान् हुनुहुन्छ । बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भन्ने अर्थ हुन्छ । क्षीरसागरको शेषशैयामा आषाढ शुक्ल एकादशीका दिन शयन गर्नुभएका विष्णु भगवान् यही कार्तिक शुक्लपक्षको एकादशीका दिन चार महिनापछि उठ्ने भएकाले यसदिनलाई हरिबोधिनी एकादशी भनिएको हो । विष्णु भगवान् स्वप्न अवस्थाबाट जागृत हुने भएकाले यस तिथिलाई हरिबोधिनी एकादशी भनिएको हो ।
यस दिन भगवान् विष्णुको प्रतीक स्वरुप तुलसीलाई पूजाआज सहित विवाह गर्ने धार्मिक विधि रहेको छ । तुलसीको मठलाई लिङ्गा, धजा एवं फूलमालाले सजाई विधिपूर्वक तुलसी विवाह हुने गर्दछ । तुलसीको पूजासँगै व्रत धारण गर्ने पनि शास्त्रीय विधान रहेको पाइन्छ । जलाहार वा फलाहार गरी भगावानका नाम एवं गुणगानका साथ व्रतोपवास गर्नाले अक्षयय पुण्य प्राप्त हुने कुरा एकादशी माहात्म्यमा उल्लेख गरिएको छ । भविष्योत्तर पुराणमा श्रीकृष्ण युधिष्ठिर संवाद मार्फत एकादशी महिमाको विशेष चर्चा गरिएको छ । अन्य एकादशी भन्दा हरिबोधिनी एकादशीका दिन गरिने विष्णु भगवान्को उपासना बढी फलदायी हुने भएकाले यस दिन गरिने स्नान, दान, तप, धर्म आदि सबै कार्यको अनन्त पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ ।