गेरुवा गाउँपालिकामा भएको छैठौँ अध्यक्ष कप तथा गेरुवा गाउँपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड एक प्रिय राठौर मावि पाताभारले चुमेको छ । २१ वटा स्वर्ण पदक, १० वटा रजत पदक र ५ वटा काश्य पदक जित्दै एक प्रिय राठौंर मावि पाताभारले यसपटकको रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो ।
त्यस्तै मावि तर्फको १४ स्वर्ण पदक, ४ रजत पदक र ७ काश्य पदक हात पार्दै जनता मावि गोलाले द्वितिय स्थान प्राप्त गरेको छ भने ११ स्वर्ण पदक, ४ रजत पदक र ९ काश्य पदक जित्दै जानकी मावि जनकनगरले तृतिय स्थानमा चित्त बुझाएको छ ।

आधारभूत विद्यालय तर्फको ४ स्वर्ण पदक, ३ रजत पदक र २ काश्य पदक जित्दै सरस्वती आ. वि. जोधीपुरले प्रथम स्थान सुरक्षित गरेको छ । ४ स्वर्ण पदक, २ रजत पदक र ३ काश्य पदक हात पार्दे सरस्वती आ. वि. विन्द्रा द्वितिय र ४ स्वर्ण पदक, २ रजत पदक र १ काश्य पदक सहित जनता आधारभूत विद्यालय सरखोल तृतिय भएको छ ।
त्यस्तै प्राथमिक विद्यालय तर्फको ४ स्वर्ण पदक र १ रजत पदक जित्दै नेपाल राष्ट्रिय प्रा. वि. गणेशपुर प्रथम, १ स्वर्ण पदक र १ रजत पदक जित्दै दिव्य ज्योति प्रा. वि. गुप्तीपुर द्वितिय र १ स्वर्ण पदक हात पार्दै नवज्योति प्रा. वि. सुखार तृतिय भएको छ ।

गेरुवा गाउँपालिकाको आयोजना तथा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरको आतिथ्यतामा वडा नं ४ को गेरुवा खेलग्राममा प्रतियोगिता सम्पन्न भएको हो ।
मार्चपास, एथलेटिक्स, कबडी, भलिबल तथा कराते र तेक्वान्दो गरी ६ विधामा प्रतियोगिता भएको थियो । माध्यमिक तहको प्रतियोगितामा ७, आधारभूत तहको प्रतियोगितामा ८ र प्राथमिक तहको प्रतियोगितामा १२ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्राथमिक तहको प्रतियोगितामा कबड्डी, भलिबल र मार्सल आर्टको विधा समावेस गरिएको थिएन भने आधारभूत तहको प्रतियोगितामा कबड्डी र मार्सल आर्टको विधा समेत समावेस नगरिएको खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयका संयोजक भीमबहादुर धामीले बताए ।

सामुदायिक र निजी गरी ३३ वटा विद्यालयमध्ये २० वटा विद्यालय मार्चपासमा सहभागी भएका थिए । मार्चपासमा माध्यमिक विद्यालय तर्फ एक प्रिय राठौर मा. वि., जनता मा.वि. गोला र जानकी मा.वि. क्रमशः प्रथम, द्वितिय र तृतिय भएका थिए । त्यस्तै आधारभूत विद्यालय तर्फ सरस्वती आ. वि. प्रथम, वालप्रिय आ. वि. तिनघरुवा द्वितिय र नवज्योती पब्लिक स्कुल जनकनगर तृतिय भएका थिए । त्यसै गरी प्राथमिक विद्यालय तर्फ लायफ भिजन बोडिङ्ग स्कुल, नेपाल राष्ट्रिय प्रा. वि. रनवज्योती प्रा. वि. सुखार क्रमशः प्रथम, द्वितिय र तृतिय भएका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले रनिङ शिल्ड प्रतियोगितामा ३ वर्ष लगातार प्रथम हुने माध्यमिक विद्यालय, आधारभूत विद्यालय र प्राथमिक विद्यालयलाई क्रमशः ५ लाख, ३ लाख र २ लाख रुपैयाँ अनुदान स्वरुप रकम गाउँपालिकाले प्रदान गर्ने घोषणा गरे ।
प्रतियोगिता सोमवार देखि ३ दिन सम्म चलेको थियो ।