बर्दियाको गेरुवा गाउँपालिकामा ‘खेलकुद, अनुशासनर गतिशिलता : मैत्रीपूर्ण भावनाको विकास आजको आवश्यकता’ भन्ने मुल नाराका साथ छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ ।
गेरुवा गाउँपालिकाको आयोजना तथा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरको आतिथ्यतामा वडा नं ४ को गेरुवा खेलग्राममा सोमवार प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दे नेपाली काँग्रेसका सह–महामन्त्री किशोर राठौरले विद्यार्थी जिवन सिर्जनशिल र उर्जाशिल हुने भएकोले यो समयमा खेलकुद तथा शिक्षामा ध्यान दिन सकेमा विद्यार्थीको भविष्य राम्रो वाटो तफ लाग्ने वताउनु भयो ।
उहाँले खेलकुदले अनुशासित वनाउँदै कुलतमा लाग्नबाट रोक्ने भएकोले यस्ता किसिमका खेलकुद प्रतियोगिताहरुले युवा विद्यार्थीहरुलाई देश विकासको मुलप्रवाहमा ल्याउन अग्रसर गराउने वताउनुभयो ।

प्रतियोगिताका उद्घाटन कार्यक्रममा वोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले रनिङ शिल्ड प्रतियोगिताको शिल्ड लगातार ३ बर्षसम्म जित्ने विद्यालयलाई गाउँपालिकाले अनुदान स्वरुप ५ लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभयो ।

मार्चपास, एथलेटिक्स, कबड्डी, भलिबल तथा कराँते र तेक्वान्दो गरी ८ विधामा प्रतियोगिता गरिने सचिवालयले जानकारी दिएको छ । माध्यमिक तहको प्रतियोगितामा ७, आधारभुत तहको प्रतियोगितामा ८ र प्राथमिक तहको प्रतियोगितामा १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन ।
प्राथमिक तहको प्रतियोगितामा कबड्डी, भलिवल र मार्सल आर्टको विधा समावेस गरिएको छैन । भने आधारभुत तहको प्रतियोगितामा कबड्डी र मार्सल आर्टको विधा समावेस नगरिएको खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयका संयोजक भिम बहादुर धामीले बताउनु भयो ।

सामुदायिक र निजि गरी ३३ वटा विद्यालय मध्ये २० वटा विद्यालय मार्चपासमा सहभागी भएका थिए । प्रतियोगिता पुष १८ गतेसम्म चल्नेछ ।