लुम्बिनीका मुख्यमन्त्री भन्छन्– संघीयता फेल भयो भने केन्द्रकै कारण हुन्छ, हाम्रो कारणले होइन
बर्दिया टुडे
आश्विन ३, २०८० बुधवार
१७:०८:४१ मा प्रकाशित
1.8K
SHARES
1.8K
SHARES
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरू कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजनामा भएको संविधान दिवस कार्यक्रममा मुख्यमन्त्री चौधरीले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई दिन नखोजेको बताए ।
यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको आएको मुख्यमन्त्री चौधरीको भनाइ छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए । उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने र त्यो शीघ्र कार्यान्वयनमा जानुपर्ने बताए ।
‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जेजे लेखिएको छ त्यहीअनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पूर्ण कार्यान्वयनका लागि संघीयता कार्यान्वयन पूर्ण हुनुपर्ने र त्यो अधिकारमा जोडिएको उनले बताए ।
संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गरे ।
उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसँग आग्रहसमेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरूबीचमा समन्वय र सहकार्य हुनुपर्ने बताए । (शिलापत्र)