नेकपाका बर्दिया संघीय निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेश पन्थले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत खुला पत्र सार्वजनिक गरेका छन्।
खुला पत्रमा पन्थले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्डले निर्वाह गरेको नेतृत्वको प्रशंसा गर्दै वर्तमान राजनीतिक गतिविधिमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले पार्टी पुनर्निर्माण, वैचारिक स्पष्टता, बिखण्डित वाम शक्तिको एकीकरण, युवालाई नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिइएको किन भन्ने प्रश्न गरेका छन्।
उनले बारम्बार सत्ता केन्द्रित राजनीति गर्नु रणनीतिक आवश्यकता हो वा नेतृत्वमाथिका चुनौती र दबाबको परिणाम हो भन्ने विषयमा नेतृत्वले जनतासामु स्पष्ट धारणा राख्नुपर्ने बताएका छन्। यसो हुँदा कार्यकर्ता र जनतामा विश्वास बढ्ने उनको भनाइ छ।
पन्थले अहिलेको आवश्यकता सत्ता जोगाउनेभन्दा पार्टीलाई पुनर्जीवित गर्ने, युवालाई अवसर दिने, बिखण्डित वाम शक्तिलाई विचारका आधारमा एकताबद्ध गर्ने र जनतामा नयाँ आशा जगाउने रहेको उल्लेख गरेका छन्। साथै, प्रदेश सरकार बनाउने र गिराउने राजनीतिक अभियान किन सञ्चालन भइरहेको हो भन्ने प्रश्न पनि उठाएका छन्।
खुला पत्रमा उनले नेकपा (एमाले) सँगको सत्ता सहकार्यलाई लक्षित गर्दै "बचेगुचेको अन्तिम राजनीतिक अवसर पनि कुर्सीको खेलमै समाप्त गर्न खोजिएको हो?" भन्ने प्रश्न गरेका छन्। साथै, २०७५ सालमा बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) किन विघटन भयो भन्ने विषयमा पनि स्पष्ट जवाफ दिन नेतृत्वसँग माग गरेका छन्।
उनले तत्कालीन पार्टी एकता र वर्तमान सत्ता गठबन्धनका निर्णयहरूमा संलग्न नेतृत्व नै अहिले पनि रहेको उल्लेख गर्दै, त्यसबेलाको निर्णय र अहिलेको राजनीतिक अभ्यासबीच वास्तविक भिन्नता के हो भन्ने प्रश्नसमेत गरेका छन्।
सुरेश पन्थको उक्त खुला पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको हो, जसले नेकपाभित्रको वर्तमान राजनीतिक दिशा, नेतृत्वको प्राथमिकता र पार्टी पुनर्गठनबारे बहसलाई थप चर्चा दिलाएको छ।