कविता – मायाकाे क्षीतिज
कहिलेकाही एकान्तमा रहदा
तिम्रो याद आउँछ प्रिय !
मन उद्वेलित हुन्छ
मुटु चस्किन्छ
त्यसो नहोस् पनि किन ?
मेरा लागि, मेरा खुसीका लागि
जब कि तिमीले
आफ्नो सर्वस्व अर्पित गरेकी छ्यौ
मलाई राम्ररी थाहा छ
तिम्रा ती गम्भीर र काला नयनमा
मायाको अथाह समुन्द्र छ
तिमीले गरेको उग्र मायाको
टड्कारो अनुभूति
मेरो हृदयमा जीवन्त छ प्रिय
म कृतज्ञ छु,आभारी छु
आफ्नो सर्वस्व अर्पण गर्न सक्ने
तिम्रो बलिदानको बदला
तिमीलाई दिने मसग
बस्तु नै के छ र ?
तिम्रो सामु म त
रित्तो ,खोक्रो पो छु त
तिम्रो विशालताको सामु
म अत्यन्तै तुच्छ छु प्रिय
त्यसैले म पराजित छु
तिमी अपराजिता ।
तिमीबाट मैले जीवन दर्शन सिकेको छु
त्यागमा,बलिदानमा
कति महान शक्ति हुदोरहेछ
स्नेहमा,ममतामा
जीवन बाच्ने प्रेरणा हुदोरहेछ
प्रिय ,आज म अत्यन्त भावावेशमा छु
म अतीत झलझली सम्झीरहेछु
कुनै समय ,म वेदनामा व्यथित भएको हुन्थे
मेरो छाती चस्केर दुखीरहेको हुन्थ्यो
त्यतिबेला ,जब तिमी
आफ्ना कोमल हातहरुले
मलाई स्पर्श गर्थ्यौ
मेरो व्यथित मुहारभरि
अपरिमित चुम्बनको बर्षा गर्थ्यौ
मधुर वाणीले मायाको
मलाई आश्वस्त पार्थ्यौ
म पुलकित हुन्थे प्रिय
क्षणरमै विलिन हुन्थे मेरा वेदनाहरु।
अनि हामी सुरु गर्थ्यौ
जीवनका कुरा
तिम्रो मोहक अङ्कमालमा
आह ! आफ्नै जिन्दगी
कति प्रिय लाग्थ्यो
कति आत्मीय लाग्थ्यो
र सारा जगत कति सुन्दर लाग्दथ्यो
प्रिय एकान्तमा कहिलेकाही
ती यादहरु आइरहन्छन्
ती सुखद स्मृतिहरु
मन मस्तिष्कभरि छाइरहन्छ्न।
प्रिय
कहिलेकाही म
अत्यन्त आश्चर्य चकित हुन्छु
सीमा हीन घनिष्टताका बीचमा
हाम्रा कति दिनहरु बिते
यश बीचमा मैले चिने तिमीलाई
तिम्रो हृदयलाई
र त तिम्रो उपासक बने
तर तिमीले मलाई चिन्दै चिनिनौ
मायामा एकोहोरिएर तिमीले
मभित्रको मलाई चिनिनौ
बाहिर छातीमात्र स्पर्श गर्याै
कहिल्यै हृदयभित्र चिहाउने प्रयत्न गरिनौ
त्यसैले होला ,वृथा कहिलेकाही मैले
कम्ती माया गरेको गुनासो गर्छ्यौ
प्रिय, मेरो जीवनको विडम्बना नै यस्तै छ
धेरै धेरै ठाउँहरुबाट ममाथि
यस्तै आक्षेपहरु ओइरो लाग्छन्
ठिकै हो
अन्तरङ्ग संगिनी भैकन पनि
जब मलाई तिमीले नै चिनिनौ भने
के चिनोस यो दुनियाँ ?
म यस कुराले मर्माहत छु प्रिय
म तिमीलाई धेरै माया गर्छु
म जीवनलाई माया गर्छु
म संसारलाई माया गर्छु
मेरो माया विस्तारित छ प्रिय
मेरो माया व्यापक छ
म कहिल्यै एउटैसग मात्र
एकोहोरो हुन सकिन ,सीमित हुन सकिन
प्रिय, मलाई चिन्ने प्रयत्न गर
म यो विशाल सृष्टिको एउटा सिर्जना हु
म प्रकृतिको एक अनुपम रचना हु
म जीवन यात्रको अनन्त यात्री हु
म उच्च आवेगमा कवितालाई प्रेम गर्छु
मभित्र भावनाको वास छ
म विपना भोग्छु,सपना सगाल्छु
हृदयको पानामा कल्पना अगाल्छु
यो जगत ,जंगम र प्राणी र अझ
सम्पूर्ण मानव जातिलाई
म श्रद्धाको आखाले हेर्छु
मतिर हेर प्रिय
मेरो तनभरि,मनभरि माया नै माया छ
अब स्वयं भन प्रिय मेरो प्रीतिको क्षीतिज
कसरी सागुरो हुन सक्छ ?
मेरो माया व्यापक छ,विस्तारित छ
म तिम्रो प्रेमबाट पराजित
कृतज्ञ सेवक अवश्य हु
मलाई माफ गर
मेरो हृदयभित्र तिम्रो मात्र माया छैन
धेरै धेरैको माया छ
धेरै धेरैको माया छ।