Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वीर सहिदहरुप्रति

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    प्रतिशोधको ज्वालामा

    खरानी बनाएर सग्ला जीवनहरु

    जलाएर निर्दोष शरीरहरु

    काटेर हजारौ टाउकाहरु

    लखेटेर लाखौं हरुवाहरु

    र, बुटमुनि कुल्चेर कैयौं रहरहरु

    मध्य युगीन शासकको बर्बर

    सामन्ती दिग्विजयमा

    खडा भयो मेरो देशको जग ।

    हो ! यही हो मेरो देशको

    इतिहासको यथार्थ

    शासनको केन्द्र

    राजदरबारको सनकमा

    उहिल्यै, यसले पूर्णाकार नलिदै

    देश हितमा समर्पित

    काजी भीम मल्लले इनाम स्वरुप

    मृत्यु दण्ड पाएको,

    देशलाई सग्लो बनाउन

    अविश्रान्त लागीरहने बहादुर शाह मारिएको

    बृद्ध भीमसेन थापा जेलमै सेरिएको

    वहालवाला प्रधानमन्त्री

    रणजङ्ग पाण्डे, माथबर सिह थापा, फत्तेजङ्ग शाहहरु

    मुला काटेझैं काटिएको

    सत्ता स्वार्थमा विवेक गुमाएर

    कोत, भण्डारखाल र अलौ पर्वमा

    थुप्रै देशभक्तहरुको जीवन लीला समाप्त पारिएको

    तितो इतिहासको खण्डहरमा

    खडा भएको छ मेरो देशको जग ।

    अशिष्ट, निर्मम, क्रूर निरङ्कुश

    शाह राजाको सत्ताद्वारा

    त्यसकै अयोग्यताको जगमा उदाएको

    कुरुप राणाको सत्ताद्वारा

    जबर्जस्ती दबाएर नागरिक चेतना

    बर्षौ अध्यारोमा

    स्वाभीमान खोसिएको

    श्री हराइएको

    आधुनिक संसारदेखि बिलकुल अलगथलग पारिएको

    कुशासन अव्यवस्था र

    गैरजिम्मेवार शासकीय अवस्थाका बीच

    रक्त विहीन

    जर्जर अस्थिपन्जरझैं

    खडा भएको छ मेरो देशको जग ।

    बस यही थियो मेरो देश

    भूगोल थियो भावना थिएन

    शरीर थियो आत्मा थिएन

    स्वतन्त्रता, समानता र भातृत्वको नारामा

    संसार बिउँझे बेला

    मेरो देशमा बोल्नु अपराध थियो

    शैक्षिक, सास्कृितक क्रान्तिको धुन्दुवीले

    दुनियाँ निमग्न भएको बेला

    मेरो देशमा

    पुस्तकालय खोल्नु

    अपराध थियो

    सीमातीत अन्यायका बीचमा

    निर्धा नागरिकको हुलमा

    बेचैन लड्खडाएर उभिएको थियो

    मेरो देशको जग ।

    त्यो बदल्नु बियो

    क्रान्तिको ज्वाला बाल्नु थियो

    देश सबैको साझा बनाउन

    निरङ्कुश सत्ताको पर्खाल भत्काउनु थियो

    कठोर संघर्षको यात्रा थाल्नु थियो

    समयले हिक्मत मागेको थियो

    बलिदान मागेको थियो

    मुक्तिका लागि जुझारु

    हात मागेको थियो

    आततायी शासक विरुद्ध लड्ने

    दरिलो आट मागेको थियो

    हे क्रान्तिवीर !

    तिमी शुक्रराज, दशरथ चन्द, धर्मभक्त

    र गङ्गालाल भएर आयौ

    असङ्ख्य नेपाली जनमनमा

    क्रान्तिको उद्घोष बनेर छायौ

    यो देशको नवनिर्माणका लागि

    न्याय र समानता लागि

    समृद्धि र स्वतन्त्रताका लागि

    जनजागरणका मधुर गीत गाउदै

    जीवन उत्सर्ग गर्ने राष्ट्र दूत बनेर आयौ

    तिमीले थालनी गरेको

    बलिदानको यात्रा अविश्रान्त छ, अविरल छ

    यो अविदित यात्रामा हजारौंको रगत बगेको छ

    नेपाल आमाका हे श्रेष्ठ सन्तानहरु !

    हे वीर सहिदहरु !

    तिम्रो बलिदानको महान गौरवमाथि

    जब खडा हुनेछ समृद्ध नेपालको जग

    जहाँ विभेदको पर्खाल रहनेछैन

    यो देश सबैको हुनेछ

    म त्यो बलिदानको सार्थकता खोजीरहेछु

    आज स्मृतिमा तिम्रो

    श्रद्धाका शव्द धारा पोखीरहेछु ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij