पश्चिम नेपालको सुन्दर शहर नेपालगन्जलाई कर्म स्थल बनाएर नेपाली साहित्यका विविध विधामा अविश्रान्त कलम चलाउने साधक सृजन लम्साल एक स्थापित स्रष्टा हुन् । सम्वत २००३ आश्विन महिनामा तनहु जिल्लाको किहु,बडरभन्ज्याङमा जन्मेका उनले त्रिभुवन विश्वविद्यालबाट कला र कानुन विषयमा स्नातक तहसम्मको औपचारिक शिक्षा प्राप्त गरेका छन् । राष्ट्रिय वाणिज्य बैङ्कमा अधिकृत तहको कर्मचारीका रुपमा लामो समय नेपालगन्जमा बसेर जागिरे जीवन व्यतीत गरेका स्रष्टा लम्सालले आफूलाई व्यवसायिक कर्मचारीका रूपमा मात्र सीमित राखेनन, निरन्तर स्वाध्ययन र साहित्य साधनामा अग्रसर बनाइराखे ।
स्रष्टा सिर्जन लम्साल मुख्य रूपमा निबन्ध विधामा स्थापित छन् । उनका नैतिकता हराएको सूचना, प्रजातन्त्र, गणित र डिप्रेसन, आगनदेखि सागरसम्म, भित्र बाहिरका पाइला र विस्थापित मुड गरी पाँचवटा निबन्ध संग्रहहरु प्रकाशित छन् । यसै गरी उनका बिपतरामको मानचित्र कथासङ्ग्रह र मान्छेदेखि सावधान लघुकथा सङ्ग्रह र लम्साल वंशावली कृति समेत प्रकाशित छन् । नियात्रा र समालोचना क्षेत्रमा समेत गहिरो अभिरुचिका साथ कलम चलाउने स्रष्टा लम्सालका अधिकाङ्श निबन्धहरुमा नियात्राका रमणीय वर्णन तथा समालोचनाका गहन चेतहरुको मनोरम अनुभूति भेटाउन सकिन्छ । नेपालगन्ज शहरबाट स्रष्टा लम्सालले नेपाली साहित्यको बगैचामा निबन्धरुपी सुन्दर फूलहरु अर्पण गरेका छन्, र नेपाली साहित्यको पुष्प भण्डारलाई समृद्ध बनाउन सतत प्रयत्न गरेका छन् ।
साहित्यकार सृजन लम्सालको साधनाको एक महत्त्वपूर्ण पाटो कविता हो । विद्यार्थी जीवनबाटै साहित्य क्षेत्रमा पाइला चालेका लम्साल कविता लेखेर नेपाली साहित्यमा देखा परेका हुन् । २०२६/०२७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जद्वारा प्रकाशित क्याम्पसको मुखपत्रमा पुतली कविता प्रकाशित गरी औपचारिक रूपमा उनी साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । यसै वर्ष क्याम्पसमा आयोजित निबन्ध प्रतियोगितामा लक्ष्मीप्रसाद देवकोटाको जीवनी निबन्ध लेखेर प्रथम स्थान प्राप्त गरेपछि उनको सिर्जशीलतामा उर्जा र उत्साह थपिन्छ र उनी साहित्य साधनामा थप प्रेरित हुँदै अगाडि बढ्न थाल्छन् । नेपालगन्जका अग्रज स्रष्टा सनत रेग्मी ,वि विकास र इन्द्रमणि मानवबाट उनी प्रेरित र प्रभावित देखिन्छन् ।
निबन्ध विधामा विशिष्टता हासिल गरेका व्यक्तित्व हुन्, स्रष्टा सृजन लम्साल । कतिपय समालोचकहरु उनलाई कविका रूपमा आगन्तुक कवि मान्छ्न, उनको निबन्धकार व्यक्तित्वलाई मात्र आधिकारिक र स्थापित ठान्दछ्न । त्यसोभन्दा उनका मोहक कविता र उज्यालो कवि व्यक्तित्वप्रति दृष्टि नपुगेको प्रतीत हुन्छ र कवि र कवितामाथि अन्याय हुन्छ ।
सर्वप्रथम कवि व्यक्तित्वका रूपमा नेपाली साहित्यमा पदार्पण गरेका स्रष्टा लम्सालको एउटामात्र कविता संग्रह मलाई नक्साभित्रको देश चाहिन्छ सम्बत २०६९ मा प्रकाशित छ । संख्यात्मक दृष्टिले उनले कमै कविता लेखेका छन् तर गुणात्मक दृष्टिले उनका कविता उत्कृष्ट छन् । सरल भाषामा सघन भाव अभिव्यक्त गर्ने जम्मा यस सङ्ग्रहभित्रका ४० कविताहरुमा अनुभूतिका विविधता भेटिन्छन् । गद्य कविता, गजल, ताङ्का र हाइकुहरुको मिश्रण यो संग्रहमा कवि कतै भावुक त कतै वैचारिक व्यक्तित्वका रूपमा मुखरित हुन्छन् । ईश्वरभित्र मान्छे र मान्छेभित्र ईश्वरको दर्शन गर्ने कवि पाठकलाई सहजै गहन जीवन दर्शनको बोध गराउछ्न ।
दार्शनिक अभिव्यक्ति, देशले भोगेको द्वन्द्वको सहज प्रस्तुति, सामाजिक विसङ्गतिप्रति धारिलो व्यङ्ग्य, प्रचुर देशभक्तिका भावना, राष्ट्रिय अखण्डताप्रति अटूट आस्था, प्रकृति सौर्न्दर्यको मनोरम चित्रण, अग्रज स्रष्टाप्रति सम्मानजनक स्मृति, सहज शृङ्गारिक भावना यस सङ्ग्रहका कविताहरुमा पाइने प्रमुख आश्वाद्य विषयहरु हुन् ।
उच्च मानवीय मूल्य एवं महिमा मण्डित जीवनको सार खोज्ने उनका कविता यदाकदा कलात्मकताको कसीमा कमजोर प्रतीत भए तापनि सुस्पष्ट वैचारिकता र अर्थ पूर्ण भाव प्रवाहशीलताका दृष्टिले सुन्दर छन् । परम्परागत समालोकीय आखाले हेर्दा कविताका गुण र तत्वमा कतै कमजोरी महसुस गरिएको भए तापनि आम पाठकका आखामा कवि सम्प्रेष्य अनि प्रिय छन् । सरल भाषामा कवि यसरी नक्साभित्र देश खोजी रहेछन्,,
ओ!कवि हो!
भावुकताको आरनमा पग्लेर
भावनाको खहरेमा बगेर
कल्पनाको बादलमा उडेर
मलाई देशको अर्थ नसिकाऊ।।
,,,
देशभन्दा ठूलो कुनै देवता छैन मेरो।
कवि सृजन लम्सालका कवितामा सशक्त भावना छ,सुन्दर भाषा छ ,त्यसैले त मलाई उनी आधिकारिक निबन्धकार मात्र हैनन,कवि पनि हुन भन्ने लाग्छ ,र उनका लेखनीबाट नेपाली साहित्य फाटमा अझै सशक्त कविता आउने आशा छ।अस्तु
शान्ति सङ्गम टोल,गुलरिया ,बर्दिया