गेरुवा गाउँपालिकाको नवौँ गाउँसभा बिहीवार सम्पन्न : स्थानिय विपद् तथा जलवायु उत्थानशिल योजना पारित
सात महिनाकाे अवधिमा लक्ष्य भन्दा बढी रु ७६ लाख अर्थात ११६ प्रतिशत राजश्व संकलन
बर्दिया टुडे
माघ २९, २०७७ बिहिवार
१९:३३:५७ मा प्रकाशित
2.0K
SHARES
2.0K
SHARES
गेरुवा गाउँपालिकाको नवौँ गाउँसभा बिहीवार सम्पन्न भएको छ ।
गाउँपालिका उपाध्यक्ष हिमा कुमारी थारुले प्रस्तुत गरेकोे आर्थिक वर्ष २०७७/०७८ को संशोधित वजेट अनुमोदन गर्दे गाउँ सभा सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.ले पानसमा वत्ती बालेर गाउँसभाको शुभारम्भ गरेका थिए ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष हिमा कुमारी थरुनीले चालु आ. व. मा विनियोजित भएको वजेट तथा केहि कार्यक्रमबाट वजेट वढी भई खर्च नहुने भएको र केही कार्यक्रममा वजेट नपुग भएको एवम केही नयाँ कार्यक्रम समेत सञ्चालन गर्नका लागि वजेट व्यवस्था सहित संशोधित वजेट तथा कार्यक्रम अनुमोदनका लागि प्रस्तुत गरेकी थिइन् ।
गाउँसभाले वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दयाराम वैद्य थारुले प्रस्तुत गरेको स्थानिय विपद् तथा जलवायु उत्थानशिल योजना सर्वसम्मत रुपमा पास गरेको छ ।
गाउँपालिका कार्यालयको सभाहलमा भएको गाउँ सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन र खर्चको अवस्थाको समीक्षा समेत गरिएको थियो ।
गाउँसभामा चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनाकोको आय व्यय विवरण प्रस्तुत गरिएको छ । वार्षिक कुल व्यय अनुमान रु ५८ करोड ७२ लाख २१ हजार मध्ये १९ करोड ५ लाख ३ हजार २ रुपैँया खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । यो कुल वजेटको ३२.४१ प्रतिशत हो ।
गाउँपालिका बाट प्रवाह गरिने सेवाको दस्तुर तथा मालपोत लगायत आन्तरिक स्रोतबाट चालु आ. व.मा ६५ लाख संकलन गर्ने लक्ष्य राखिएकोमा सात महिनाको अवधिमा ७६ लाख आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । यो लक्ष्यको ११६ प्रतिशत हो ।
त्यसैगरी आ. व. २०७७/०७८ मा स्विकृत भएका कार्यक्रम अन्तरगत पूर्वाधार विकास तर्फ ८७ वटा योजनाहरु मध्ये २६ वटा योजना उपभोक्ता समिति मार्फत र २७ वटा योजना ठेक्का प्रक्रिया मार्फत अगाडी वढाईएकोमा २४ वटा योजना निर्माण सम्पन्न भईसकेको, ३४ वटा योजना सम्झौता भईसकेको र वाँकी योजना कार्यान्वयनको क्रममा रहेको गाउँ सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
गेरुवा गाउँपालिकाकाे नवाैँ गाउँसभामा उपाध्यक्ष हिमा कुमारी थारुले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७।७८ को संशोधित बजेट(पूर्णपाठ)