वडास्तरिय विरोध प्रदर्शनमा सहभागी हुन देउवाको आव्हान
बर्दिया टुडे
माघ ७, २०७७ बुधवार
१८:०२:०७ मा प्रकाशित
3.2K
SHARES
3.2K
SHARES
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडा स्तरीय प्रदर्शनमा भोलि ८ गते सहभागी भएर संसद विघटन विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आम नागरिकमा अपील गरेका छन् ।
केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले माघ ८ गते बिहीवार ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको आयोजना गर्दैछ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र र माघ ३ गते ७ सय ५३ वटा नगर तथा गाउँपालिकाहरुमा जनताको व्यापक सहभागितामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
बिहीबार आयोजना गरिएको वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सभापति देउवाले बुधबार बिज्ञप्तिमार्फत अपिल गरेका छन् ।
‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।