काठमाडौँ- बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध मुद्धा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। प्रतिवेदनको अध्ययन गरी सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरी अदालतमा दर्ता गर्ने छ। आलमबाहेक अन्य दस जना भने फरार छन्। यसअघि पाँच जनाबिरुद्ध किटानी जाहेरी परेकामा अहिले थप ६ सहित ११ जनाबिरुद्ध मुद्दा चलाउन राय दिएको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले जानकारी दिए। ‘मुद्दा दर्ता सरकारी वकिलले गर्ने भएकाले अहिल्यै अभियुक्तहरुको नाम भन्न मिल्दैन,’ कार्कीले भने।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमले आफ्ना भाइलगायतसँग मिलेर विस्फोटमा घाइते भएका मानिसहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेको दाबी गरिएको छ।
२०६४ को संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमले मतदातालाई तर्साउने प्रयोजनका लागि काकाको घरमा बम बनाउँदै गर्दा विस्फोट भएको दावी प्रहरीको छ। आलमविरुद्ध दुई जनाको किटानी जाहेरी थियो। इटाभट्टामा कतिलाई हालेर मारिएको थियो भन्ने तथ्यांक यकिन हुन सकेको छैन।
प्रहरीकै सहयोगमा आलमले घटना घटाएको हो भन्ने आरोप आइरहेकै बेला प्रहरीले थप ६ जना अभियुक्त क-कसलाई बनायो भन्ने चासोको विषय बनेको छ।
आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो। देश सञ्चार बाट