Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कथा : मेरी छोरी

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  • पुष महिना भएर होला आज निकै ठण्डा लागिरहेको छ । हिजोको झरीले जाडोको घमण्डलाई गौरीशंकर हिमालको चुचुरोमा पुर्‍याइदिएको छ । म वृद्धाश्रमको माथिल्लो बरण्डामा उभिएर घाम तापिरहेकी छु । सडकमा गुडेका गाडी सँगसँगै मन पनि गुडिरहेको छ । बेलाबेलामा स्मृतिका पर्खालभित्र कैद भएका विगतले चियाउने प्रयत्न गर्छन् ।

    तर वास्तविकता धेरै पर भएकाले म विगतलाई दबाएर राख्छु । वर्तमानमा बाँच्न सिक्दैछु । कसैले पछाडिबाट आमा भनी बोलाएको सुन्छु तर मन एकोहोरो सडकमाथि खनिइरहेको छ । कसैले उठाइदिएर बरण्डामा उभ्याइदिएको थियो अव थचक्क बस्न मन लाग्छ तर आफै बस्न सक्दिनँ । दायाँबायाँ हेर्छु । अघि मलाई बोलाउने नानी रमिला रहिछन् । उनी वृद्धाश्रममा सहयोगी बनेकी छन् । उनकै सहाराले म गुन्द्रीमाथि थ्याच्च बसेर घाम तापिरहन्छु ।


    ADVERTISEMENT

    images

    वरपर सफा गर्दै ती नानी मेरो दिग्दारी मेटाउने प्रयास गर्छिन् –“आमा आज त छिट्टै घाममा आउनुभएछ नि ।''

    म पनि एक्लोपनबाट बच्न उनीसँगै बोल्छु – “अँ आज खाना खानेबित्तिकै आएँ नानी, कोठामा बस्नै मन लागेन ।”

    किन आमा सन्चो भएन कि क्या हो भन्दै रमिला मलाई पुलुक्क हेर्छिन् । म पनि उनको अनुहारमा विषाद्का रेखाहरु प्रष्ट देख्छु । सानो उमेरमा नै धेरै चोट खाएको जीवनको व्यथा अनुहारमा छरपष्ट भएर पोखिएका छन् तर चौघेराभित्र कैद गरेको दुःखको पोखरीमा ढुंगा हान्न चाहन्नँ । म त्यत्तिकै बोल्छु –“ हैन नानी आज त्यत्तिकै छटपटी भइरहेको छ । यताउता हिँड्न खुट्टा चल्दैन ,खुट्टा नचले पनि मन चलिरहन्छ मनलाई केही भएकै छैन ।”

    समय बित्दै जाँदा वृद्धाश्रममा आश्रित वृद्धहरु एकएक गर्दै घाममा आइपुग्छन् । बल्लतल्ल सास धान्दै काल कुरिरहेका वृद्ध शरीरहरु बरण्डाको छेउमा गएर सडकतिर हेर्छन् । सबै आ-आफ्नै कथाव्यथा बोकेका वृद्धहरु आफ्नै कथा व्यथाभित्रै रुमलिएका धमिल अनुहारहरुमा प्रष्टिन्छन् ।

    जीवनभरिको तनावलाई एउटै खाल्डामा फाल्ने र आफूआफूमा सुखदुःख साटेर मन आनन्द पार्ने असफल प्रयत्न बोकेका अनुहारहरु ऐनाझैँ प्रष्ट देखिन्छन् । उनीहरु आफूआफूमा कुराकानी गरिरहेका छन् । म भने खुट्टाको पक्षघातले गर्दा गुन्द्रीमाथि पल्टेर उनीहरुको कुरा सुनिरहेकी छु । उनीहरु सधैँ एउटी पागलको कुरा गरेर बरण्डामा बस्छन् । कसैले भन्यो –“ ऊ आज पनि आई त्यो  पागल।''

    हरेक क्रियाकलाप गरेर दुनियाँलाई नि:शुल्क मनोरञ्जन दिने त्यो सडकपारिका क्रियाकलाप मलाई पनि हेर्न मन लाग्यो । रमिलासँग सहायता मागेर  म पनि बरण्डामा उभिँदै त्यसका क्रियाकलाप हेर्न थालेँ ।

    जिङ्ग्रिङ्ग परेको कपाल , फाटेका कपडाको पोको उसलाई साथ दिने बस्तु थिए । सायद त्यो कपडा उसको बिछ्यौना हुनुपर्छ । शरीरमा असरल्ल परेका लुगाहरु उसैको शरीरलाई हेरिरहेका थिए । जाडोको मौसम भएकोले सायद त्यो खुला ठाउँमा आउने घामको तातोका लागि ऊ सधैँ यहाँ आउँथी होला। अरु त सधैँ उसलाई नियालिरहेकोले वास्ता गर्न छोड्छन् तर म भने अनौठो मानेर हेरिरहन्छु यति बेला ऊ निःशब्द छ ।

    रातभरिको चिसोलाई चुनौती दिँदै घाममा निस्कन पाएकीले होला । ऊ स्थिर छ, अब आउने रातको कठ्यांग्रिदो जाडोको चुनौतीलाई पार लगाउने शक्ति सञ्चय गर्दै होली । केही क्षणमा शक्ति सञ्चय भएपछि ऊ बिस्तारै आफ्ना औँला चलाउँछे, ज्योतिषीले हेरेझैँ आफ्ना हातका औँला हेर्छे, आफूले  आफैलाई माया गरेझैँ कपाल सुम्सुम्याउँछे र हाँस्छे एक अट्टहाँस हाँसो, निरुद्देश्य हाँसो, अर्थहीन हाँसो ।

    मलाई एक अनौठो छटपटी आउँछ । म रमिलासँग मेच मागेर बस्छु । बरण्डाका डण्डीका क्षीणबाट आँखा निकालेर उसलाई हेरिरहन्छु । घामले शरीरका नसा तताएपछि ऊ वरपरका प्लाष्टिकका झोलाहरु खोतल्छे अनि त्यहाँबाट सुन्तलाका बोक्रा, काउलीका डाँठ, भातका डल्लाहरु निकालेर खान्छे । सिकिस्त बिरामीको शरीरमा चढाएको स्लाइन पानीले जस्तो उसको शरीरमा स्फुर्ति आउँछ । अनि ऊ पुलिसले परेड खेलेझैँ गर्छे, कसैलाई सलाम गरेझैँ गर्छे ।

    आँखाबाट बगेका आँसुलाई पुछ्दै त्यसलाई नियालेर हेर्न खोजेँ तर ऊ त्यहाँ थिइन । सायद कतै गई होली , भोलि आउली कि नआउली ?

    म मनमनमा विचार गर्छु यो विश्वलाई हाँक दिइरहेकी छे । सायद यो पहिले पुलिसमा जागिरे पो थिई कि , किन अचेल यस्ती भइछ । खासै उमेर ढल्केकी जस्ती पनि छैन । म उसको अनुहार नियाल्न खोज्छु, फोहोरमैला जमेको उसको अनुहार प्रष्ट देखिँदैन । उसको शरीरले वर्षौँदेखि पानी भेट्टाएको छैन जस्तो छ । भेट्टाओस् पनि कसरी यो काकाकुल काठमाण्डौमा । विचरीलाई कति तिर्खा पनि लाग्दो हो मेरो मन त्यसै भरिएर आउँछ । म एकोहोरो उसैलाई हेरिरहन्छु । छेउको होटलकी साहुनीले एउटा कालो प्लाष्टिक उसको छेउमा राखिदिन्छे । ऊ विस्तारै त्यसलाई खोल्छे र एक डल्लो भात मुखमा हाल्छे, बाँकी रहेको भात खल्तीमा हाल्छे र मुसुक्क हाँस्छे, सायद उसले खानाको जोहो गर्न सकेको खुशीयालीमा होला ।

    घामको बैँस चढ्दै जाँदा उसको शरीर पनि तात्दै जान्छ । ऊ आफ्ना शरीरका लुगा मिलाउँछे, शरीरका अङ्गहरु तन्काउँछे। बाटामा आएका मानिसहरुलाई शंकालु नजरले हेर्छे, कसैकसैलाई झम्टेर समात्न पनि खोज्छे । थाहा छैन किन हो उसले ती आकृतिमा कसको गन्ध पाउँछे कुन्नि  आफ्नो भएभरको बल लगाएर ऊ कराउँछे, सराप्छे, के-के भन्छे तर म राम्ररी सुन्न पाउँदिनँ ।

    म एकटकले उसलाई हेर्न छाड्दिनँ, आफ्नो शरीरको असक्ततालाई बिर्सेर म त्यसलाई नियालिरहन्छु । मलाई कुनै रहस्यमय कुराको उद्घाटन हुने फिल्मी दुनियाँ जस्तो लागिरहेको छ । सम्पूर्ण ध्यान त्यतैतिर जान्छ । ऊ फेरि त्यस खाली जग्गाको भित्तामा जान्छे, हातमा केही बोकेजस्तो, भित्तामा केही लेखेजस्तो गर्छे र अगाडिपछाडि सर्दै केही भन्दैछे । म उसको यो रुपमा संसारकी सर्वश्रेष्ठ गुरुआमा देख्छु । मानौँ उसलाई यो ब्रम्हाण्डको रहस्य थाहा छ र ऊ अरुलाई बुझाउन खोज्छे  तर कसैले बुझ्दैन । ऊ थकित हुन्छे । एकछिनमा ऊ जिन्दावाद र मुर्दावादका नारा लगाउँछे । असमान, स्वार्थी र अन्यायी समाजका विरुद्धमा भाषण दिन्छे । खै कुन व्यवस्थाको समर्थन गर्छे र कुन व्यवस्थाको विरोध गर्दैछे म कान थापेर सुन्न खोज्छु तर सक्दिनँ । ऊ मञ्चबाट बिदा भएझैँ अलिकति झुकेर मुसुक्क हाँस्दै हात जोड्छे । ऊ यतिबेला एक होनहार नेताझैँ लाग्छे ।

    उसका हरेक गतिविधिमा सभ्य समाजका विभिन्न पाटाहरु झल्कन्छन् .. डाक्टर, पुलिस, शिक्षक, पत्रकार, नेता, खेलाडी आदिआदि । ऊ आफ्नो काम सक्छे, सायद थकाइ पनि लाग्दो हो । अलि पर फोहोरको डङ्गुरनेर जान्छे । एउटा प्लाष्टिकबाट पुराना कपडा फेला पार्छे, त्यसबाट पुराना कुर्तासलवार भेट्टाउँछे । ती कपडालाई हातमा लिएर निकैबेर हेर्छे, सायद ती कपडाको जाँच गर्दैछे । सायद आफ्नो मनबाट ती कपडाको कुनै खोट नदेखेर होला ऊ आँखा झिमिक्क हुन नपाउँदैमा कपडा फेर्छे । गरिबका छोराछोरीले दशैँमा लुगा फेर्न पाएझैँ खुशी हुन्छे अनि आफ्नो खुशीयालीमा छमछम नाच्छे । उसको नचाइ कुनै नर्तकीको भन्दा कम लाग्दैन ।

    म मनमनै त्यसका पुराना कपडामा नयाँ रंग भर्न थाल्छु । त्यसलाई नुहाइदिन्छु, कपाल कोरिदिन्छु, दुई चुल्ठा बाटिदिन्छु अनि निधारमा एउटा ठूलो रातो टीका लगाइदिन्छु, हातभरि राता चुरा लगाइदिन्छु अनि आँखामा गाजल लगाइदिन म उसको चिउँडो समातेर यसो माथितिर तान्छु र हेर्छु त त्यो त द्वन्द्वकालमा हराएकी मेरी छोरी पो हुन्छे । म त्यसलाई अँगालेर रुन थाल्छु । मेरो मुखबाट एक शब्द निस्कँदैन । म त्यसलाई छातीमा टाँसेर रोइरहन्छु ।

    वर्षौँदेखि कैदी भएर बसेका, स्वच्छन्द बग्न नपाएका आँसुले त्यसको शिरमा परेका तापलाई पखाल्न चाहन्छु, त्यसमाथि लागेका कलंकहरु मेट्न चाहन्छु मेरो मातृत्व, मेरो वात्सल्य भेट्न चाहन्छु, उसको अनुपस्थितिमा मैले भोग्नु परेका पीडा पोख्न र रिक्तता भर्न चाहन्छु र चिच्याएर कराएर बोलाउन चाहन्छु...पार्वती...मेरी छोरी ...। सायद म धेरै चिच्याएँछु त्यहाँका मानिसहरुले के भयो ? कसलाई बोलाएको ? कसलाई देख्यौ ? भन्ने प्रश्नमाथि प्रश्नले म झल्याँस्स भएँ, आँखाबाट बगेका आँसुलाई पुछ्दै त्यसलाई नियालेर हेर्न खोजेँ तर ऊ त्यहाँ थिइन । सायद कतै गई होली, भोलि आउली कि नआउली ? उज्यालाे बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij