सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतम सांसद बन्ने भएका छन् । गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा हारेका उनलाई नेकपाले राष्ट्रियसभामा पठाउने निर्णय गरे संगै उनी सांसद बन्ने भएका हुन ।
बिहीबारको नेकपा सचिवालय बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको उल्लेख गरे ।
नेकपामा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा विवाद थियो। गत १४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो।
सचिवालयको निर्णय विपरीत प्रधानन्त्री ओलीले अडान लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो। २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भए पनि युवराज खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्री छन्। भदौ २० खतिवडाको पद सकिने छ ।