बर्दियाको राजापुरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले प्लाष्टिक झोलाको विकल्प खोज्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार सव डिभिजन वन कार्यालय राजापुरले आयोजना गरेको प्लाष्टिक झोलाको विकल्पको रुपमा वैकल्पिक झोला प्रवर्द्धन तथा प्रदुषण नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममका सहभागीहरुले प्लाष्टिकको विकल्प खोज्ने प्रतिवद्धता जनाएका हुन् ।
प्लाष्टिक उत्पादनले वातावरण तथा जैविक विविधतामा असर पारीरहेको भन्दै सो को न्युनीकरणका लागि वैकल्पिक झोला प्रवद्र्धन गर्नेमा उनीहरु सहमत भएका हुन । कार्यक्रममा प्रमुख बोल्दै राजापुर नगरपालिका वडा नम्वर ४ का अध्यक्ष रमनकुमार रेग्मीले आफु नगरपालिका तथा वडालाई प्लाष्टिक रहित क्षेत्र बनाउनतर्फ लाग्ने बताउँदै बजारमा छ्याप छ्याप्ती रुपमा प्रयोग भईरहेका प्लाष्टिकका झोलाहरु बन्द गर्नमा सबैजना एकजुट हुनुपर्ने बताए ।
उनले बर्दिया उद्योग वाणिज्य संघले व्यापारीहरुलाई प्लाष्टिकका झोला बन्द गर्न लगाउनुपर्ने वताउँदै राजापुर नगरपालिकाले प्लाष्टिकको झोला रहित नगरपालिका घोषणा गर्न सरकारी तदारुकता जरुरी भएको बताए । कार्यक्रममा बोल्दै बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले राजापुरलाई जसरी खुल्ला दिशा मुक्त बनायौं त्यसरी नै प्लाष्टिक झोला मुक्त क्षेत्र बनाउन अग्रसर हुने प्रतिवद्धता जनाए ।
त्यस्तै विकास प्रेमी यूवा समुह बर्दियाका अध्यक्ष सुर्य केसीले नेपाल सरकारले प्लाष्टिक ब्यान्ड गर्नका लागि ३० माइग्रेड भन्दा तलको प्लाष्टिकहरु ब्यान्ड गर्ने भनि निती बनाउँदा पनि कार्यान्वयनमा आउन नसकेको भन्दै अब स्थानीय सरकारले निति बनाई राजापुर नगरपालिका भित्रका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तित्वहरु संग मिलेर प्लाष्टिक ब्यान्ड गर्नु पर्ने बताए । कार्यक्रममा राजापुर सव वन डिभिजन कार्यालयका प्रमुख ध्रुव थारुले प्लाष्टिकको उत्पादनले वातावरण तथा जैविक विविधतामा पारेको असरलाई न्यूनीकरण र वन वातावरणको संरक्षण गर्न वैकल्पिक झोलाको प्रयोग गर्न सकिने धारणा राखेका थिए । प्लाष्टिक उत्पादन बन्द नभएसम्म प्लाष्टिक मुक्त हुन नसक्ने भएपनि न्यूनिकरणमा सबैजना एकजुट हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा वैकल्पिक झोलाको प्रयोग गर्नुपर्ने भन्दै सब डिभिजन कार्यालय राजापुरले प्रचार प्रसारका लागि ७ सय थान झोला जिल्ला वन कार्यालय, बर्दिया उद्योग वाणिज्य संघ र विभिन्न सामुदायिक वन समुहहरु मार्फत वितरण गरिएको थियो ।