प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमी परियोजना अन्तर्गत युवा उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा ग्यालरी प्रस्तुति कार्यशाला सम्पन्न भएको छ ।
मधुवन नगरपालिका वडा नं. १ पथ्थरबोझीस्थित एक होटलमा आयोजित कार्यशालामा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका युवा उद्यमीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा युवाहरूले उत्पादन गरेका विभिन्न वस्तु तथा सेवाहरूको प्रदर्शनी तथा ग्यालरी प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य युवा उद्यमीहरूद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवर्धन र बजारीकरणमा सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ । यसका लागि सरोकारवाला निकायबीच अन्तरक्रिया गरी स्थानीय उत्पादनको सुनिश्चित बजार व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा हरित उद्यम (ग्रीन इन्टरप्रेनरशिप) सम्बन्धी सफल अभ्यास, उद्यम सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती तथा समस्या समाधानका उपायबारे सहभागीहरूले अनुभव आदानप्रदान गरेका थिए । युवा उद्यमीहरूले वातावरणमैत्री उद्यममार्फत स्वरोजगार सिर्जना र आर्थिक सशक्तीकरणमा टेवा पुगेको बताएका थिए ।
त्यसैगरी स्थानीय तह, सरोकारवाला संस्था तथा युवा उद्यमीबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, युवा उद्यमी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।