बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका विपन्न तथा प्रत्याभूत परिवारका बालबालिकाका लागि घरमै ‘पढाइ कुना’ निर्माण गर्न १० लाख रुपैयाँभन्दा बढीको अध्ययन सामग्री हस्तान्तरण गरिएको छ।
प्लान इन्टर नेशनल नेपालको सहयोगमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत राधाकृष्ण थारु जनसेवा केन्द्र ले पाँच विद्यालयका २०७ जना बालबालिकाका अभिभावकलाई अध्ययन सामग्री वितरण गरेको हो।
परियोजनाअन्तर्गत राजापुर नगरपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय टेडिया, वडा नं. ५ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बदालपुर, वडा नं. ८ को भेरी माध्यमिक विद्यालय ललितापुर, वडा नं. ९ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय ईश्वरीगञ्ज तथा गेरुवा गाउँपालिकास्थित पशुपति माध्यमिक विद्यालय पशुपतिनगर मा अध्ययनरत बालबालिकाका अभिभावकलाई लो टेबल, पुस्तक ऱ्याक, भित्ते घडी र कुशन लगायतका सामग्री उपलब्ध गराइएको हो।

परियोजनाका अनुसार प्रत्येक बालबालिकाका लागि ४ हजार ९ सय ४४ रुपैयाँ बराबरको ‘पढाइ कुना’ सामग्री प्रदान गरिएको छ। बालबालिकाले घरमै शान्त, सुरक्षित र व्यवस्थित वातावरणमा नियमित अध्ययन गर्न सकून् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको परियोजनाका संयोजक मनोज पौडेल ले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
यस सहयोगले विपन्न परिवारका बालबालिकाको सिकाइ स्तरमा सुधार आउनुका साथै नियमित अध्ययन गर्ने बानी विकास हुने अपेक्षा गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले बताउनु भयो ।