बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा रहेका चार कृषि सहकारी संस्थालाई कुल ९६ लाख ३५ हजार रुपैयाँ बराबरका आधुनिक कृषि सामग्री हस्तान्तरण गरिएको छ। यसले स्थानीय स्तरमै कृषि उत्पादन, प्रशोधन र बजारीकरणलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
गुडनेवर्स इन्टरनेशनल नेपाल र सोनाह विकास समाजको सहकार्यमा आयोजित कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले सहकारी प्रतिनिधिहरूलाई सामग्री हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रमा यान्त्रिकीकरण र सहकारीको सशक्त भूमिकाले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमअन्तर्गत राजापुर नगरपालिका–स्थित देउथान कृषि सहकारी संस्थालाई ९ लाख ३५ हजार रुपैयाँ बराबरको ग्रेडिङ मेसिन प्रदान गरिएको छ। त्यसैगरी, सफल कृषि सहकारी संस्थाले २५ लाख ७५ हजार रुपैयाँ बराबरको पिकअप भ्यान प्राप्त गरेको छ, जसले कृषि उपज ढुवानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
यस्तै, गेरुवा गाउँपालिकाको साइनो कृषि सहकारी संस्थालाई ५४ लाख रुपैयाँ बराबरको कम्बाइन्ड हार्वेस्टर उपलब्ध गराइएको छ, जसले धान तथा अन्य बाली कटानी प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनेछ। हिमशिखर कृषि सहकारी संस्थाले भने ७ लाख ३५ हजार रुपैयाँ बराबरको अटो रिक्सा प्राप्त गरेको छ, जुन स्थानीय बजारसम्म उत्पादन पुर्याउन उपयोगी हुने विश्वास गरिएको छ।
सहकारीहरूले पनि सामग्री खरिदमा आंशिक लगानी गरेका छन्। सफल कृषि सहकारीले पिकअप भ्यानका लागि ६ लाख २१ हजार ८६० रुपैयाँ, साइनो कृषि सहकारीले कम्बाइन्ड हार्वेस्टरका लागि १८ लाख रुपैयाँ तथा हिमशिखर कृषि सहकारीले अटो रिक्साका लागि २ लाख ३५ हजार रुपैयाँ योगदान गरेका छन्।
कार्यक्रममा गुडनेवर्स इन्टरनेशनल नेपालका बर्दिया–कैलाली क्लष्टर संयोजक अरुण कुमार चौधरीले सहकारीहरूको व्यवसायिक आवश्यकता अनुसार सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार यस सहयोगले सहकारी सशक्तीकरणसँगै स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
गुडनेवर्स इन्टरनेशनल नेपालले स्थापना कालदेखि नै यी सहकारीहरूको संस्थागत विकासमा निरन्तर सहयोग गर्दै आएको छ। यसअघि पनि चारै सहकारीमा गरी १ करोड ८४ लाख १६ हजार ३ सय ९६ रुपैयाँ बराबरको घुम्ती कोष सञ्चालनका लागि सहयोग प्रदान गरिएको थियो।
स्थानीय तह र साझेदार संस्थाहरूको संयुक्त पहलले सहकारीमार्फत कृषि क्षेत्रलाई आधुनिक, दिगो र आम्दानीमुखी बनाउने अपेक्षा गरिएको छ। ग्रामीण किसानहरूलाई प्रविधि र स्रोतसँग जोड्दै यस्ता कार्यक्रमहरूले कृषि पेशालाई आकर्षक बनाउने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।