पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन्।
सरकारले वैशाख ८ गते जारी गरेका राजनीतिक दल बिभाजन तथा संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट फिर्ता लिने निर्णय गरे लगत्तै डा. भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।
भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टी र राजपा फुटाउनका लागि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भए पनि चौतर्फी बिरोधपछि सरकारले फिर्ता लिएको हो।
’समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैँतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्,’ डाक्टर भट्टराईले ट्विटमा लेखेका छन्, ’यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन, कार्वाही हुनैपर्छ!’