मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जारी गरिन् दुई अध्यादेश
बर्दिया टुडे
बैशाख ८, २०७७ सोमवार
१४:२०:१८ मा प्रकाशित
2.4K
SHARES
2.4K
SHARES
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदले उक्त अध्यादेश पारित गरेको केही घन्टा नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।
यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।
त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो । आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन् ।
राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ ।
ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।