Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आज देखि सुरु भयो नयाँ वर्ष २०७७

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    विक्रम संवत अनुसार आज सोमबार देखि नयाँ वर्ष सुरु भएको छ । २०७७ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।

    सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।

    सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाई छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

    हरेक व्यक्तिले नयाँ वर्षका दिन गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् । विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।

    साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष बन्दाबन्दीका कारण सहज छैन । देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष हुनेछैन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।

    नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।

    चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १२ गतेदेखि नै सुरु भइसकेको छ ।

    वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको प्रमादी ४७ औँ संवत्सर हो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij