Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

परिवर्तनको उज्यालो कथाः सचेत बुबा बनेपछि रुपेश थारुको जीवनमा आयो नयाँ आयाम

  • 541
    SHARES
  •  

    बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं. ७, मुक्तिपुरका रुपेश थारु आज आफ्नै जीवनको कथा फेरिएको उदाहरणका रूपमा उभिएका छन् । पाँच सदस्यीय साधारण परिवारका सदस्य रुपेशको दैनिकी पहिले संघर्षमै सीमित थियो—जहाँ बिहानदेखि बेलुकासम्मको मेहनत त थियो, तर परिवारभित्रको भूमिकाबारे स्पष्ट बुझाइ थिएन ।


    ADVERTISEMENT

    images

    उनको परिवारमा श्रीमती शान्ति थारु, १८ महिनाका छोरा आलभ  र आमाबुबा छन् । सुकुम्बासीका रूपमा प्राप्त ५ कठ्ठा जमिनमा खेती गर्दै आएका उनले थप १० कठ्ठा जमिन अधियाँ (बटैया) मा जोतेर जीविकोपार्जन गर्दै आएका छन् । आर्थिक आवश्यकता टार्न उनका बुबा देशका विभिन्न ठाउँमा ज्यालादारी काम गर्न जान्छन् भने रुपेश आफैं पनि स्थानीय स्तरमा मजदुरी गर्छन् ।

    तर केही समयअघिसम्म उनको जीवनमा एउटा महत्वपूर्ण पक्ष छुटिरहेको थियो—परिवारभित्र बुबाको भूमिका । गर्भावस्थादेखि बालबालिकाको पोषण, स्याहार, र प्रारम्भिक विकासबारे उनी लगभग अनभिज्ञ थिए । जीवनका पहिलो दुई वर्षमै बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास हुन्छ र पाँच वर्षसम्ममा ९० प्रतिशत पुग्छ भन्ने तथ्य उनको लागि नयाँ थियो । अझ बुबाको सक्रिय सहभागिताले बालबालिकाको भावनात्मक सन्तुलन, बौद्धिक विकास र व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा उनी सोच्न समेत भ्याएका थिएनन् ।

    यही अवस्थामा “सशक्त बालिका परियोजना ” अन्तर्गत राधाकृष्ण थारु जनसेवा केन्द्रले, प्लान इन्टरनेशनल नेपालको सहयोग र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमहरूले रुपेशको जीवनमा परिवर्तनको ढोका खोलिदियो । विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरमा भएका गतिविधिहरूले केवल जानकारी मात्र दिएनन्, सोच बदल्ने प्रेरणा पनि दिए ।

    मुक्तिपुरमा गठन गरिएको पुरुष समूहमा सहभागी भएपछि रुपेशले नयाँ दृष्टिकोण पाए । नियमित अभिमुखीकरण र छलफलबाट उनले बाल विकास, पोषण, स्याहार र बुबाको जिम्मेवारीबारे गहिरो बुझाइ हासिल गरे । उनी बुझ्न थाले—बुबा हुनु केवल कमाइ गर्ने जिम्मेवारी मात्र होइन, सन्तानको समग्र विकासमा सक्रिय सहभागी बन्नु पनि हो ।

    रुपेश आफ्ना अनुभव सुनाउँदै भन्छन्: “पहिले म घरको काममा खासै ध्यान दिँदिनथेँ । तर अहिले म श्रीमतीलाई सघाउँछु, बच्चासँग समय बिताउँछु, उसलाई नुहाइदिन्छु, खाना खुवाउँछु, कपडा धोइदिन्छु । खोप लगाउन जाँदा पनि सँगै जान्छु । हामी दुवै मिलेर काम गर्दा घरको काम छिटो हुन्छ, र हाम्रो सम्बन्ध पनि अझ बलियो बनेको छ ।”

    उनको व्यवहारमा आएको परिवर्तन केवल घरभित्र सीमित छैन । अहिले उनी समुदायका अन्य बुबाहरूसँग पनि आफ्नो अनुभव बाँडिरहेका   छन् । “बुबाको भूमिका महत्वपूर्ण हुन्छ” भन्ने सन्देश फैलाउन उनी सक्रिय देखिन्छन् ।

    रुपेशको यो रूपान्तरण एउटा सामान्य कथा होइन—यो परिवर्तनको सशक्त उदाहरण हो, जहाँ सही जानकारी, अवसर र सहभागिताले जीवनलाई नयाँ दिशातर्फ डोर्याउँछ । आज उनको परिवारमा सहकार्य, समझदारी र खुशीको वातावरण देखिन्छ ।

    रुपेशले राधाकृष्ण थारु जनसेवा केन्द्र, प्लान इन्टरनेशनल नेपाल र सहयोगी सबै निकायप्रति आभार व्यक्त गर्दै भने,“यी कार्यक्रमहरूले मेरो सोच मात्र होइन, मेरो जीवन नै परिवर्तन गरिदिएको छ। अब म जिम्मेवार बुबा भएर मात्र होइन, अरूलाई पनि प्रेरित गर्ने प्रयासमा छु ।”
    ‎रुपेश थारुको कथा—जहाँ एक बुबाको परिवर्तनले परिवार र समुदायमै सकारात्मक तरंग फैलाइरहेको छ ।

    ‎रुपेशको कथा हामी सबैका लागि एउटा सन्देश हो—परिवारको समृद्धि केवल आर्थिक पक्षमा मात्र निर्भर हुँदैन, यसमा समझदारी, सहकार्य र समान जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छ । विशेषगरी बुबाहरूको सक्रिय सहभागिता बालबालिकाको उज्ज्वल भविष्य निर्माणको आधार बन्न सक्छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij