१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बर्दियाको गेरुवा गाउँपालिकामा श्रमिकमैत्री नीति निर्माणका विषयमा केन्द्रित पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “श्रमिकको सम्मान, हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा श्रमिकका हक, अधिकार र सम्मान सुनिश्चित गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।
गेरुवा गाउँपालिका–३, शान्तिबजारमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, श्रमिक प्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा श्रमिकको योगदानको उचित कदर हुन नसकेको, श्रमको मूल्यांकन कम भएको तथा श्रमिकमैत्री नीतिको अभाव रहेको विषयमा सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए।
अन्तरक्रियामा श्रमिकमैत्री नीति निर्माण, न्यूनतम ज्याला कार्यान्वयन, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल र श्रमिकको सम्मानजनक जीवन सुनिश्चित गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले “हाम्रो श्रम किन कम?” भन्ने प्रश्न उठाउँदै श्रमिकप्रति समाज र राज्यको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमको अवसरमा श्रमिकका हक, अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि ठोस नीतिगत व्यवस्था गर्न माग गर्दै गेरुवा गाउँपालिकालाई ज्ञापनपत्रसमेत बुझाइएको छ। ज्ञापनपत्रमा श्रमिकमैत्री नीति निर्माण, न्यूनतम ज्यालाको कार्यान्वयन, श्रमिक दर्ता, सामाजिक सुरक्षा कार्यक्रम विस्तार तथा सुरक्षित कार्यस्थल सुनिश्चित गर्नुपर्ने माग उल्लेख गरिएको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा मुक्त कमैया समाज पालिका स्तरीय श्रमिक सञ्जालको समन्वय रहेको थियो भने कमैया महिला जागरण समाज नेपाल, बर्दिया र एक्शनएडको सहकार्य रहेको थियो।
कार्यक्रमका वक्ताहरूले श्रमिकको अधिकार सुनिश्चित गर्न नीतिगत सुधार, जनचेतना अभिवृद्धि तथा स्थानीय तहको सक्रियतामा जोड दिँदै यस्ता कार्यक्रमले श्रमिकका मुद्दा सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
